मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    नेपालका प्रधानमन्त्री ओली र भारतका मोदीले शुक्रवार पशुपति मैत्री धर्मशालाको 'संयुक्तरुपमा' उद्घाटन गर्ने

    तीनतारे होटलको सुविधा हुने बताइएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको छ

    मंगलवार, १२ भाद्र २०७५, आहाखबर
    फाइल तस्वीर

    काठमाडौँ, १२ भदौ  

    नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । 

    विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास मोदीले यही भदौ १५ गते शुक्रबार संयुक्तरुपमा गर्ने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

    तीनतारे होटलको सुविधा हुने भनिएको उक्त धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए । धर्मशाला निर्माणपछि नेपाल, भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सकिनेछ । 

    तिलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ८२ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा ३९८ श्यया रहेकाले एकैपटक ३९८ तीर्थयात्री बस्न सक्नेछन् । यसले गर्दा नेपालको धार्मिक एवम् आध्यात्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको कोषका सदस्यसचिव ढकालले राससलाई जानकारी दिए । 

    धर्मशालाको निर्माणपछि निम्नवर्ग र निम्नमध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई सहुलियतमा स्तरीय धर्मशालाको व्यवस्था नहुँदा महँगा होटलमा बस्न बाध्य हुने गरेका छन् । 

    शुक्रबार उद्घाटन भएलगत्तै धर्मशाला सञ्चालन गर्ने विधि बनाउन कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ । समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्रमुख दुर्गादत्त ढकाललगायत सदस्य छन् । धर्मशालामा शाकाहारी खानाका साथै बस्ने व्यवस्था हुनेछ । 

    विसं २०५८ देखि विभिन्न व्यक्तित्वले चारपटक धर्मशालाको शिलान्यास गरेका थिए । जसमा शङ्कराचार्य जयन्द्र सरस्वती र राष्ट्रियसभाका पूर्वअध्यक्ष बेनीबहादुर कार्कीलगायत थिए । धर्मशाला निर्माणको ठेक्का रमण-लामा जेभीले पाएको थियो । नेपाली शैलीमा निर्माण भएको धर्मशालामा मल्लकालीन रातो इँटा ‘दचि अपा’ को प्रयोग गरिएको कोषले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast