सोमबार, चैत्र २४, २०७६
    खेल संसार

    जुम्ल्याहा जोडीको सफलता !

    १८औं एशियाली खेलकूद : लनटेनिसका नेपाली जोडी मायांका र माहिका प्रिक्वाटरफाइनलमा प्रवेश

    ब्याडमिन्टनको पुरुष समूहमा भने नेपाल क्वाटरफाइनलमा पराजित, व्यक्तिगत स्पर्धाका खेलहरु भने आगामी शुक्रबारदेखि शुरु हुने

    मंगलवार, ५ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, ५ भदौ :

    इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । 

    नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका र माहिकाको जोडीले आज जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

    लनटेनिस पुरुष डबल्समा नेपाल पराजित भएको छ । नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतका खेलाडीसँग ६–१ र ६–१ को सोझो सेटमा पराजित भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

     

    नेपाल क्वाटरफाइनलमा पराजित

    १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । 

    चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । 

    पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु आगामी शुक्रबारदेखि शुरु हुनेछ । 

     

    पौडीमा गौरिका १८ औं र टीसा २२ औँ स्थानमा 

    एशियाली खेलकूदको पौडीतर्फ सोमबार  भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए । 

    २७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरें । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समय खर्चिएकी थिइन् भने टिसाले १ मिनेट शुन्य तीन दशमलव सेकेन्डमा सो दूरी तय गरिन् । 

    मङ्गलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् । 

     

    तेक्वान्दो : सागर क्वाटरफाइनलमै रोकिए 

    तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागरले भियतनामका खेलाडीसँग २५–५ अङ्कले पराजित भएको थियो । 

    त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । 

    त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी सङ्गीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पराजित भइन् । 

    मङ्गलबार महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast