सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    रहेनन् बाजपेयी

    प्रधानमन्त्री ओलीद्वारा भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको निधन भएकोमा समवेदना व्यक्त

    भाजपाका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक बाजपेयीको निधनको खबरबाट आफू र आफ्नो पार्टी स्तब्ध भएको देउवाद्वारा उल्लेख

    शुक्रबार, १ भाद्र २०७५, आहाखबर

    काठमाडौँ, भदौ १ :

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ , 

    नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता भएको बताएका छन् । 

    सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गर्नुभएको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरेका छन् । 

    पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उनि नेपालको शुभचिन्तक र वास्तविक मित्र भएको बताएका छन् । 

    प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गरेको योगदानको स्मरण पनि गरेका छन् । 

    स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गरेका  छन् । 

     

    नेता देउवाद्वारा श्रद्धाञ्जलि अर्पण

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताएका छन् । 

    सभापति देउवाले एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता थिए भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका  छन् ।

    उनको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको श्री देउवाले बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast