शुक्रबार, जेष्ठ १६, २०७७
    राज्य-समाज

    प्रम ओलीको चासो, गुनासो र प्रश्न : वडा अध्यक्षले डोजर किनेर ठेक्का आफैँ लिने हो ?

    स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको धारणा बनाउने भएकोले आफ्नो आचरणमा ख्याल गर्न आग्रह

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर

    काठमाडौं, ३१ साउन 

    प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन् ।  

    गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गरेका हुन् । 

    स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकाले त्यस बिषयमा गम्भीर हुन जनप्रतिनिधिलाई प्रधानमन्त्रीले आग्रह गरे ।
    यही क्रममा प्रधानमन्त्री ओलीले मेयर र उपमेयर, गाउँपालिका अध्यक्षले महंगा गाडी किनेको र वडा अध्यक्षले आफै डोजर किनेर सडक ठेक्का लिएको गुनासो आएको विषय उठाएका छन । 
    ‘कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले महंगा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासा आएका छन्, प्रधानमन्त्री ओलीले भने, ‘के यो गर्नुहुने कुरा 
     हो ?’ 
    ओलीले जनप्रतिनिधिले जनताले नरुचाउने काम गर्नु नहुनेमा जोड दिए । ‘जनताले जे रुचाउछन् त्यस काममा केन्द्रीत हुनुहोस’, ओलीले भने। 

    कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराए। राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक प्रयोग नगरी जनताको मन जित्न उनले सबैलाई आग्रह गरे।

    ओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठूलो जिम्मेवारी भएकाले त्यही अनुसार काम गर्न सुझाए।  उनले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधिले धेरै समस्याको सामना गरेर काम गर्नु पर्ने बाध्यता रहेको कुरामा आफू जानकार रहेको उल्लेख गर्दै चुनौतीको सामना गर्न निर्देशन दिएका हुन्। 

    ‘जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो’, प्रधानमन्त्री ओलीले भने, ‘दुर्गमका बस्ती, राज्यको सेवा सुविधा नपुगेका जनतामा तपाईंले नै सेवा प्रवाह गर्ने हो।’ 

    स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न ओलीले आग्रह गरेका छन्। 

    सुगम ठाउँमा नगरपालिका र महानगरपालिका हुने भएकाले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर गाउँपालिकामा यस्तो स्थिती नुहने ओलीको भनाइ छ। 

    ‘दुर्गम भएर नै गाउँपालिका भयो’, प्रधानमन्त्री ओलीले भने, ‘सुगम ठाउँ भएको भए नगरपालिका भइसकेका हुन्थे।’ 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast