मंगलवार, मंसिर ३, २०७६
    खेल संसार

    रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले उचाल्यो यूईएफए सुपर कपको उपाधि

    क्रिष्टियानो रोनाल्डो र जिनेदिन जिदानले क्लब छाडेपछि पहिलो औपचारिक प्रतियोगिता खेलेको रियल मड्रिडले ४–२ को हार व्यहारेको हो ।

    बिहिवार, ३१ श्रावन २०७५, आहाखबर

    एजेन्सी, ३१ साउन

    स्पेनिस क्लब रियल मड्रिडले यो सिजनको सुरूवात हारबाट गरेको छ।

    स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना युइएफए सुपर कप खेलेको रियल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग पराजित भयो।

    बुधबार राति युरोपियन च्याम्पियन रियल मड्रिड युरोपा लिग च्याम्पियन एथ्लेटिको मड्रिडसँग ४-२ गोल अन्तरले पराजित भयो।

    निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

    अतिरिक्त समयमा एथ्लेटिको मड्रिडका लागि कोके र साउलले उत्कृष्ट गोल गर्दै सिजनको पहिलो उपाधि हात पारे।

    त्यसअघि निर्धारित समयमा एथ्लेटिकोका लागि डिएगो कोस्टाले दुई गोल गरेका थिए भने रियल मड्रिडका लागि करिम बेन्जिमा र सर्जियो रामोसले समान एक-एक गोल गरेका थिए।

    खेलको पहिलो मिनेटमै कोस्टाले गोल गर्दै एथ्लेटिकोलाई सुरूवाति अग्रता दिलाएका थिए। तर २७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए।

    पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रियलले अग्रता लियो। खेलको ६३ औं मिनेटमा रामोसले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए।

    उनले पेनाल्टीमा गोल गरेका थिए।

    यस्तै खेलको ७९ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरेपछि निर्धारित समयको खेल बराबरीमा सकियो।

    त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमै एथ्लेटिकोले २ गोल गर्‍यो। ९८ औं मिनेटमा साउलले गोल गर्दै खेलमा अग्रता दिलाए भने १०४ औं मिनेटमा कोकेले गोल गरेपछि एथ्लेटिकोले सुपर कपको उपाधि उचाल्यो।

    विगत ९ वर्षदेखि टिमका महत्वपूर्ण खेलाडी रोनाल्डो यही सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गए पछि बुधबार राति टिमले उनको अभाव महसुस गर्‍यो।

    जिदानको स्थानमा आएका रियल मड्रिडका नयाँ प्रशिक्षक जुलियन लोपेतेगीको पहिलो प्रतिस्पर्धात्मक खेल पनि हारबाट सुरूवात भयो।

    जिनेदिन जिदानले छोडेपछि लोपेतेगी रियलको जिम्मेवारी सम्हाल्न आएका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast