सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका बाढीपीडित घर फिर्ता

    पानी पर्ने क्रममा कमी आएसँगै डुबानमा परेको बस्तीको पानी घटेपछि स्थानीय बासिन्दा मङ्गलबार साँझदेखि नै घर फिर्ता हुने क्रम शुरु भएको थियो

    बुधबार, ३० श्रावन २०७५, आहाखबर

    कञ्चनपुर, ३० साउन

    कञ्चनपुरको महाकाली नगरपालिका–१० का जगबुढा नदीको बाढीका कारण विस्थापनमा परेका परिवार घर फिर्ता भएका छन् । नगरपालिकाको शान्ति टोल, गिरी टोल, प्रतिभा टोल र गुरुङ टोलका बासिन्दा बाढीको पानी घटेपछि घर फिर्ता भएका हुन् । 

    बाढीको पानी टोलमा पस्दा ३० परिवारका १८४ जनाले घर छाडेर सुरक्षित स्थानमा गएका थिए । अपाङ्ग, गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई स्थानीय विद्यालयमा राखिएको थियो । अन्य स्थानीय आफन्तका घरमा शरण लिन बाध्य भएका थिए । 

    पानी पर्ने क्रममा कमी आएसँगै डुबानमा परेको बस्तीको पानी घटेपछि स्थानीय बासिन्दा मङ्गलबार साँझदेखि नै घर फिर्ता हुने क्रम शुरु भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका जनक पन्तले बताए । ‘‘विस्थापनमा परेका सबै परिवार बुधबार बिहानसम्म घर फिर्ता भइसकेका छन्’’ उनले भने । 

    महाकाली नदीको बाढीले भत्काउन थालेको बाँधसमेत नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा मर्मत गरिएको छ । महाकाली नदीमा पानीको बहाव घटेपछि चारपाङ्ग्रे सवारीसाधनमा लगाएको रोकसमेत हटाइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast