शुक्रबार, कार्तिक २९, २०७६
    कृषि-उर्जा

    कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा आपूर्ति नगर्दा सप्तरीमा रासायनिक मल अभाव

    मल सहज रुपमा आपूर्ति नगर्दा मार परेको किसानको गुनासो

    सोमबार, २८ श्रावन २०७५, आहाखबर

    राजविराज, २८ साउन

    सप्तरीमा रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री केन्द्रले पर्याप्त मात्रामा मल आपूर्ति नगर्दा मल अभाव भएको हो ।

    जिल्ला सहकारी सङ्घका प्रबन्धक रमेशकुमार गुप्ताका अनुसार धान रोपाइँ गर्न डिएपी, युरिया र पोटास गरी करीब १५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । आवश्यकताअनुसार कृषि सामग्री केन्द्रले मल उपलब्ध नगराउँदा किसान समस्यामा परेको गुप्ता बताउँछन् ।

    रोपाइँको समयमा जिल्लाका विभिन्न सहकारीले डिएपी, युरिया र पोटास निर्धारण गरिएभन्दा बढी मूल्यमा किसानलाई बिक्री गर्दैआएका छन् । सहकारीले प्रतिबोरा रु ४०० देखि रु ६०० भन्दा बढी मूल्यमा मल बिक्री गर्ने गरेको पाइएको छ ।

    रासायनिक मलको कालोबजारी बढेको गुनासो आएपछि अनुगमन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । मल सहज रुपमा आपूर्ति नगर्दा मार परेको किसानको गुनासो छ । पर्याप्त पानी नपरेपछि धान रोपाइँ गरिने खेतमा धाँजा फाटेको हनुमाननगर कङ्कालनी नगरपालिका–३ का शोभितलाल यादवले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast