बुधबार, जेष्ठ २१, २०७७
    यातायात

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, मन्त्री महासेठद्वारा सडकको स्थलगत निरीक्षण

    सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि सो सडकखण्डको स्थलगत निरीक्षण

    आईतवार, २० श्रावन २०७५, आहाखबर
    फाइल फोटो

    चितवन, २० साउन :

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । 

    सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो । बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।

     

    मन्त्री महासेठद्वारा सडकको स्थलगत निरीक्षण

     भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले शनिबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको स्थलगत निरीक्षण गरेका छन् । 

    सडक निर्माण सम्पन्न भए पनि सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिएपछि उनले सो सडकखण्डको स्थलगत निरीक्षण गरेका हुन् । 

    भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठ शनिबार साँझ मुग्लिन–नारायणगढ सडक खण्डको स्थलगत निरिक्षण गर्नुहुँदै । तस्वीर सौजन्य : भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको सचिवालय

    तनहुँमा पुल उद्घाटनका लागि पुगेका मन्त्री महासेठले सो सडकखण्डको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि तत्काल उपयुक्त उपाय पहिल्याउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका छन् । 

    पटकपटक सडकमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । मन्त्री महासेठले पहिरो नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने सबै उपायको खोजी गर्नसमेत सडक विभागका अधिकारीलाई निर्देशन दिएका हुन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast