शनिबार, जेष्ठ १७, २०७७
    कृषि-उर्जा

    १ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप, ठूला आयोजना अध्ययन गर्दै विभाग

    नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना

    मंगलवार, १ श्रावन २०७५, रमेश लम्साल .

    काठमाडौँ, १ साउन

    आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १ सय मेगावाट विद्युत् थप भएको छ । 

    विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो । 

    यस्तै ११ वटा मझौला प्रकृतिका आयोजनासमेत सो आवमा सम्पन्न भएका छन् । दुईवटा लघु जलविद्युत् आयोजनासमेत सोही अवधिमा सम्पन्न भएका छन् ।  विभागका अनुसार सोही अवधिमा पञ्चकन्या हाइड्रो पावरको माथिल्लो माई सी आयोजनासमेत सम्पन्न भएको छ । सो आयोजनाको क्षमता छ मेगावाट रहेको छ । 

    दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको करीब ११ वर्षपछि सम्पन्न भएको हो । 

    यस्तै सभाखोला चार मेगावाट, पुवाखोला एक ४ मेगावाट, थापाखोला १३.६० मेगावाट, चाके खोलामा दुई मेगावाट, मिदिम तीन मेगावाट, मोलङ सात मेगावाट, मदक्यूखोला १३ मेगावाट, माई साना क्यासकेड आठ मेगावाट, सार्दी खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट र द्वारी खोला ३.७५ मेगावाट रहेका छन् । 

    दोलखाको ढुङ्गे जिरी ०.६० र सिउरी भूमे लघु जलविद्युत् ०.२३ मेगावाट क्षमताका आयोजना पनि सोही अवधिमा सम्पन्न भएका छन् । विभागको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य कृृष्णप्रसाद ओलीलगायतले ती आयोजनाका प्रवद्र्धकलाई सम्मान गरे। 

    ठूला आयोजना अध्ययन गर्दै विभाग 

    जलविद्युत् आयोजनाको अध्ययन र पहिचान गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको विभागले हाल ११ वटा ठूला तथा मझौला आयोजनाको अध्ययन गरिरहेको छ । कूल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन सम्पन्न गरेको छ । यस्तै हाइड्रोलोजीको समेत अध्ययन भइरहेको छ । सरकारले सो आयोजनालाई दक्षिण एशियाकै ठूलो आयोजनाका रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ । 

    यस्तै ८४ मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजना, ९३ मेगावाटको शारदा बबई र १०२ मेगावाटको दूधकोशी पाँचौँ आयोजना अध्ययनको चरणमा छन् ।

    कर्णाली स्टेज एक २८१ मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४३७, अरुण चौथो ३७२, तल्लो अरुण ६७९, सेती २८७, सुनकोशी दोस्रो एक हजार ११६ र सुनकोशी तेस्रो ५४० मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा रहेका विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए । 

    पाँच हजार मेगावाटको अनुमतिपत्र 

    विभागले करीब पाँच हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । कूल १५९ वटा आयोजनालाई त्यस्तो अनुमति दिइएको छ । अनुमति दिइएकामध्ये तीन हजार ५०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन गरेर निर्माणका विभिन्न चरणमा रहेका छन् । 

    यस्तै एक मेगावाट क्षमतासम्मका १५ आयोजनालाई पनि उत्पादन अनुमति दिइएको छ । ती आयोजनाको क्षमता १६ मेगावाट रहेको छ । विद्युत् उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिइएका आयोजनाको संख्या २७ छ । ती आयोजनाको क्षमता तीन हजार ७३ मेगावाट रहेको छ । 

    उत्पादन सर्वेक्षणको अनुमति लिएका आयोजनाको संख्या २९१ रहेको छ । ती आयोजनाको क्षमता १७ हजार ९२१ मेगावाट रहेको छ । एक मेगावाटभन्दा कम क्षमताका २० आयोजनाले पनि सर्वेक्षणको अनुमति लिएको छ । 

    यस्तै ३७ वटा सौर्य ऊर्जाका परियोजनाले समेत अनुमति लिएका छन् । ती आयोजनाको क्षमता २१६ मेगावाट रहेको छ । पाँच मेगावाट क्षमताको वायु ऊर्जा, २७ मेगावाट क्षमताका बायोमास र उखुको खोस्टाबाट विद्युत् निकाल्ने गरी रिलायन्स चिनी उद्योगले अनुमति लिएको छ । बारामा आयोजनास्थल रहेको सो परियोजनाले १५ मेगावाट विद्युत् उत्पादन गर्नेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast