आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    जुम्लाको 'तातोपानी' जिल्लाकै तेस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

    अबको ६ महिनाभित्र जुम्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्य, तातोपानी गाउँपालिकाका १ हजार १०० बालबालिकालाई पूर्णखोप

    सोमबार, ३२ आषाढ २०७५, आहाखबर

    सुर्खेत, ३२ असार । 

    जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।गाउँपालिका भित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिए । 

    “हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ,” स्वास्थ्य संयोजक उपाध्यायले भने । 

    गाउँपालिकमा भएका एक हजार १०० बालबालिकालाई पूर्णखोप लगाइएको छ । तातोपानी गाउँपालिका जुम्ला–२ का स्थानीय महिला छायाँदेवी परियारले सुनौला हजार दिनको समय अवधिभित्र र जन्माएको चार पटकसम्म आफ्नी छोरीलाई नियमित खोप लगाएको बताए । 

    तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पूर्णखोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको जनाउँदै तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको बताए । 

    जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगदबहादुर शाहीले तीन गाउँपालिकासँगै अबको छ महिनाभित्र जुम्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको बताए । 

    जुम्लाका हिमा र सिंजा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भइसकेका छन् । बाँकी चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी र कनकासुन्दरी गाउँपालिकामा पनि पूर्णखोप घोषणाको तयारी चलिरहेको जनाइएको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast