आईतवार, भाद्र ८, २०७६
    साहित्य

    आज २ सय ५ औं भानुजयन्ती, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

    दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना

    शुक्रबार, २९ आषाढ २०७५, आहाखबर

    २९ असार, काठमाडौं । 

    आज असार २९ अर्थात् आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती । आचार्यको जन्मजयन्तीका अवसरमा देशभर तथा नेपाली भाषीको बसोबास रहेका अन्य स्थानहरुमा समेत विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    भानु जयन्तीको अवसर पारेर राजधानी काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । 

    वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । उनले ‘रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेको भन्दै स्मरण गरिन्छ ।

    पछि आचार्यले लेखेका पाण्डुलिपिहरुलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएको बताइन्छ । 
    आचार्यका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँ साहित्यिक कृतिहरु प्रकाशित छन् ।

     

    भानुजयन्तीमा प्रभातफेरीः हिमवत्खण्ड सम्मिलन हुँदै

    नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उनको शालिकमा माल्यार्पण गरिएको छ । 

    भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे । 

    प्रभातफेरी कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान पुगी श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । भानुजयन्तीका अवसरमा आजै मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलन आयोजना हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नाचघरमा उद्घाटन गर्ने सम्मिलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहनेछ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast