शनिबार, जेष्ठ २४, २०७७
    कृषि-उर्जा

    हावापानी र माटो अनुकूलको धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु

    बिभिन्न तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्य

    बुधबार, २७ आषाढ २०७५, आहाखबर
    फाइल तस्वीर

    बाबियाचौर, म्याग्दी, २७ असार  

    धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । 

    हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो । 

    पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारि दिए । लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताए । 

    मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो । 

    यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast