शनिबार, जेष्ठ २४, २०७७
    कृषि-उर्जा

    सरकारी र गैरसरकारी संस्थाको बेवास्ताले स्थानीय बीउ जोगाउँदै किसान

    समय समयमा ठूलो काँक्रो, ठूलो फर्सी वा ठूलो गाई भन्दै किसानलाई सम्मान गर्नुले हाइब्रिडलाई प्रोत्साहन गर्छ

    मंगलवार, २६ आषाढ २०७५, सञ्चिता घिमिरे .

    ललितपुर, २६ असार  

    काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने साँगाका किसान रामकृष्ण ढकाल समय–समयमा आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली बोकेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पुग्छन् । 

    आफूसँग भएको कुनै बाली गाउँघरमा कम देखिएपछि उनि नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रलाई उपलब्ध गराउछन् । बालीमा कुनैखालका रोगले बीउ नै नष्ट हुन सक्छ । बीउ बैंकका रुपमा रहेको केन्द्रमा राखेपछि एक सय वर्षसम्म सुरक्षित हुने ढकालले बताए । आफूसँग भएका रैथाने जात पुस्तौँसम्म जोगाउनुपर्छ भन्ने धारणाले उनले केन्द्रमा बीउ दिने गरेका हुन् । 

    यस्तै, दलचोकीका धु्रव सापकोटा पनि स्थानीय जातका बीउ जोगाउनुपर्छ भन्ने धारणा राख्ने किसान छन् । पहिले शिक्षण पेशामा आबद्ध उनि अहिले नेपालको पहिलो बीउ बैंकका रुपमा रहेको दलचोकी बीउ बैंकको अध्यक्ष छन् । 

    बैंकले पैसा जस्तै गरेर बीउ जम्मा गर्ने र चाहिएका समयमा किसानलाई दिने गरेको छ । उनले पनि स्थानीयस्तरमा भएका जात कुनै लोप हुन लागे संरक्षणका लागि केन्द्रमा ल्याउने गरेका छन् । 

    हाइब्रिड र उन्नत जातको बढ्दो प्रयोगका कारण स्थानीय जात लगाउने किसानको संख्या कम हुँदै गएको छ । कतिपय किसान रैथाने बीउ मासिन दिन नहुनेमा सजग रहेको केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताए । 

    “यहाँ राख्दा आफैँले पछि चाहिँदा वा सन्तानको पालासम्म सुरक्षित हुने भन्दै किसानले बीउ राख्न ल्याउने गरेका हुन्,” घिमिरेले भने । कतिपयले भने आफ्नो सन्तान खेती नगर्ने हुँदा बीउ नजोगिने हो कि भन्ने चिन्ताले संरक्षणका लागि ल्याउने गरेका छन् । 

    विभिन्न किसिमका रैथाने बालीमा फरक फरकखालका गुण भएको घिमिरेले बताए । हाम्रा कतिपय स्थानीय जातमा विशेषखालका गुण पाइन्छ । कतिपय जातको अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने, कतिपय अन्न बासनादार त कतिपय फरक खालका परिकारका लागि पुस्तौँदेखि प्रयोग हुँदै आएका अन्न छन् । तिनलाई संरक्षण गर्नुपर्छ भनेर कतिपय किसानले वर्षौंदेखि थोरै परिमाणमा भए पनि लगाउने गर्छन् । 

    “उत्पादन कम वा अरु कुनै कमजोरीले गर्दा उन्नत जात लगाउने किसानले बीउ जोगाउनकै लागि भए पनि स्थानीय जात लगाएका छन्,” घिमिरेले भने  

    विशेष गरेर धान पर्याप्त फलाउन किसानले हाइब्रिड वा उन्नत जात लगाउँछन् भने चाडपर्वका लागि अनदी धान, बासनादारलगायतका गुण भएका धान पनि थोरै परिमाणमा रोप्ने गर्छन् । 

    स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर बालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो । 

    “अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके,” उनले भने । 

    सरकारी र गैरसरकारी संस्थाले स्थानीय जातका बाली संरक्षणलाई बेवास्ता गरेको उनको आरोप छ । अधिकांश कार्यक्रम हाइब्रिडलाई प्रोत्साहन गर्ने छन् । “समय समयमा ठूलो काँक्रो, ठूलो फर्सी वा ठूलो गाई भन्दै किसानलाई सम्मान गर्नुले हाइब्रिडलाई प्रोत्साहन गर्छ,” पराजुलीले भने । 

    केन्द्रमा समय समयमा स्थानीय जातका बीउ खोज्दै किसान आउने गर्छन् । केन्द्रले बीउका लागि १० देखि २० ग्रामसम्म दिने गरेको उनले बताए । किसानले त्यसैलाई वर्षेनी रोप्दै गएर धेरै बनाउन सक्छन् । किसानलाई दिएर कम भएका बीउ बढाउनका लागि केन्द्रले पनि कुनै वर्षमा खेतबारीमा रोपेर त्यसको मात्रा बढाउँछ । 

    “हामी आफैँ अध्ययनका लागि र किसानलाई चाहिँदा दिनका लागि पनि भण्डारण गरेर राख्छौँ,” पराजुलीले भने । 

    नार्कअन्तर्गतकै कृषि वनस्पति महाशाखाले झण्डै ५० वर्षदेखि संकलन गरेको बीउ केन्द्रले सात वर्ष पहिलेदेखि संरक्षण गरेर राखेको हो । कतिपय कर्मचारीले ल्याएका त कतिपय किसानले बैंकमा जम्मा गरेका बीउ यहाँ छन् । अधिकांश जातका बीउ चिसो (माइनस २० डिग्रीसम्म) मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ । 

    लामो समयसम्म रहने बीउ धेरै ठण्डा र छोटो आयु हुने बीउ त्योभन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । केन्द्रले समय समयमा बीउको उमारशक्ति परीक्षण गर्दै आएको छ । 

    केन्द्रमा अहिले १३० थरी बालीका गरेर ११ हजारभन्दा बढी जात संरक्षित छ । सबैभन्दा बढी धानबालीको दुई हजार ३०० जात छन् । कतिपय जात फरक स्थानबाट आएका एकैथरी बीउ हुन सक्छ । दोहोरिएकालाई घटाउने र नयाँ भेटिएका जात थप्दै जाने केन्द्रको योजना छ । 

    उनि भन्छन्, “हामीसँग संरक्षित बालीका जात बढ्ने र घट्ने भइरहन्छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast