आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    सहारा सहकारी संस्थाले आफ्ना शेयर सदस्यको निःशुल्क औषधि उपचार गर्दै

    सहकारीले आगामी २०८० सालदेखि सम्पूर्ण शेयर सदस्यको निःशुल्क स्वास्थ्य उपचार गर्ने लक्ष्य लिएको जानकारी

    बिहिवार, २१ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    सुरुङ्गा, झापा, २१ असार 

    सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ४४५ जनाको निःशुल्क उपचार गरेको छ । 

    आफ्ना शेयर सदस्यको निःशुल्क औषधिउपचार गर्ने मुख्य उद्देश्यसहित सहकारीले सञ्चालन गरेको जीवन बरदान कार्यक्रमअन्तर्गत उनीहरुको निःशुल्क औषधि उपचार गरेको हो । 

    सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीका अनुसार सहकारीको आर्थिक वर्ष २०७४-७५ मा रु ७२ लाख सात हजार खर्च भएको छ । दुईवटा आयुर्वेद औषधालयसहित ३३ वटा अस्पतालबाट सहकारीले उक्त सेवा प्रदान गर्दै आएको छ । सहकारीका शेयर सदस्य बिरामी परे शल्यक्रिया, एनएसथेसिया पोष्टअप-एचडियू, आइसियु-एनआइसियूसम्मको खर्च सहकारीले व्यहोर्ने गरेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए । 

    फेमली हेल्थ नेपालको प्राविधिक सहयोगमा सहकारीले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमबाट प्रदेश नं १ का सहाराका सम्पूर्ण शेयर सदस्य लाभान्वित भएका छन् । सहकारीले आगामी २०८० सालदेखि सम्पूर्ण शेयर सदस्यको निःशुल्क स्वास्थ्य उपचार गर्ने लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । 

    सहकारीमा एक लाख ३० हजार ८०१ शेयर सदस्य छन् । संस्थाको कूल सम्पति दायित्व रु छ अर्ब ७९ करोड ३९ लाख २१ हजार रहेको सहकारीका अध्यक्ष सञ्जेलले बताए । सहकारीले सञ्जीवनी कार्यक्रमसमेत सञ्चालन गर्दैआएको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई रक्तचाप र मधुमेहको औषधिमा ५० प्रतिशत छुट दिँदै आएको छ । “यस वर्षबाट थाइराइडको समेत औषधि उपलब्ध गराउँछौँ,” गिरीले भने । आगामी दिनमा संस्थाले १० वटा जटिल रोगको औषधिमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast