शनिबार, जेष्ठ २४, २०७७
    कृषि-उर्जा

    मल कालोबजारी गरेर बेच्ने नेपालीलाई सदस्यसमेत नरहने गरी निस्काशन

    किसानले रकम फिर्ता भएपछि खुशी व्यक्त गर्दै सहकारी संस्थाका नाममा ठगी गर्नेलाई कारबाहीसमेत हुनुपर्ने बताएका थिए

    बिहिवार, २१ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    तुलसीपुर, दाङ, २१ असार 

    कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । 

    नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा रु २०० र डिएपीमा रु ५० भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए ।

    उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिन अगाडि रासससहित यहाँका विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर पीडित ८८ जना किसानलाई रकम फिर्ता गरेको हो । 

    किसानले रकम फिर्ता भएपछि खुशी व्यक्त गर्दै सहकारी संस्थाका नाममा ठगी गर्नेलाई कारबाहीसमेत हुनुपर्ने बताएका थिए । रकम फिर्ता कार्यक्रममा वडाध्यक्ष डम्बर न्यौपाने, युवा समाजसेवी मोहन पौडेल, नेकपाका हुमबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast