बुधबार, जेष्ठ २१, २०७७
    कृषि-उर्जा

    यस वर्षको सर्वाेत्कृष्ट ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ राजेन्द्रराज पन्तलाई

    चितवनका योगेन्द्रबहादुर खड्का, लालबहादुर सुनार, बौएलाल मुखिया र रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन्

    बुधबार, २० आषाढ २०७५, आहाखबर

    ललितपुर, २० असार 

    गोरखास्थित पालुङटार नगरपालिका–७ का किसान राजेन्द्रराज पन्त यस वर्षको सर्वाेत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका छन् । 

    कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्थापना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बुधबार उनलाई प्रदान गरिएको हो । पुरस्कार कदरपत्रसहित दुई लाख राशिको हो । 

    त्यसैगरी चितवनका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्का, बाँकेका च्याउ खेती गर्दै आएका लालबहादुर सुनार, धनुषाका माछा उत्पादक किसान बौएलाल मुखिया र कैलालीका केरा खेती गर्दै आएका रामबहादुर कुँवर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । उनिहरु चारैजनाले प्रमाणपत्रसहित रु एक-एक लाख प्राप्त गरे । 

    कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा पछिल्लो समयमा केही सुधार देखिएको बताए । उनले भने, “धेरै मेहनत गरेर राम्रो गरेका किसानबाट अरुले पनि सिक्न सक्छन् ।” कृषिको अहिलेको अवस्था चिरफार गर्न खाँचो रहेको उनको धारणा छ । 

    मन्त्रालयका सचिव युवकध्वज जिसीले किसानलाई प्रोत्साहन गर्नसके मात्रै यस क्षेत्रको रुपान्तरण सम्भव भएको विचार व्यक्त गरे । 

    राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले कृषिमा सुधारका प्रयास भएपनि अझै धेरै सुधारको खाँचो रहेको बताए । 

    राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कृषि क्षेत्रलाई राज्यले प्रवद्र्धन गर्नुपर्छ भन्ने महसुस गर्न थालिएको बताए । 

    राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिमा परम्परागत र टुक्रे प्रणाली समस्याका रुपमा रहेको बताए । 

    सर्वाेत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत पन्तले आफूले सरकारको अनुदान नलिई दुई दशक पशुपालन गरेको बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast