आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    रक्तदाताको स्वास्थ्य जाँच नगरी रक्तदान, सफा ठाउँमा रक्तदान नहुँदा स्वास्थ्यमा असर

    ५० पटक भन्दा बढी रक्तदान गरेकालाई आ–आफ्नो ठाउँमा रक्तदानका लागि प्रेरित गर्न लगाउनुपर्ने भनाई

    मंगलवार, १९ आषाढ २०७५, – सञ्चिता घिमिरे .

    ललितपुर, १९ असार  

    ललित ब्यासले अहिलेसम्म ५९ पटक रक्तदान गरे । 

    उनबाट प्रेरित भएर उनकी छोरीले उमेर पुग्नासाथ (१८ वर्षदेखि) रक्तदान गर्न थालिन् । नेगेटिभ समूहको रगतको माग हुँदा उनले दिइरहिन् । रक्तअल्पता हुँदासमेत उनले रक्तदान गर्न नछाडेको बाबु ब्यास बताए । 

    शरीरमा रगतको निकै कमी भएपछि मात्रै छोरीलाई रक्तअल्पता भएको आफूले पत्तो पाएको ब्यासले बताए । उनले भनिन्, “पत्ता लाग्नासाथ उपचार गरेर मात्रै नत्र उनको अवस्था खराब भइसकेको रहेछ ।” रक्तदाता रगत दिन सक्ने छ-छैन भनेर जाँच नगरी रगत लिँदा रक्तदातामा परेको असरको यो एउटा उदाहरण हो । 

    अरुलाई ज्यान बचाउने रक्तदाता आफ्नै ज्यान जोखिममा पर्ने घटना दोहोरिइरहेको रक्तदाता बताउँछन् । नेपालमा रक्तदाताको स्वास्थ्य जाँच नै नगरी रगत लिँदा धेरै रक्तदातामा विभिन्न किसिमका स्वास्थ्य समस्या आइरहेका छन् । 

    रगत आवश्यक पर्ने व्यक्तिलाई रगत हाल्नु अघि जाँच गरेपनि रक्तदातासँग रगत लिनु अघि जाँच नहुने रक्तदाताको गुनासो छ । कमजोर स्वास्थ्य अवस्थामा समेत रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य थप बिग्रिन सक्छ । 

    अर्का रक्तदाता भानु रोशन राजभण्डारीले जस्तोसुकै धुलो र फोहरमा समेत रक्तदान भइरहेको बताए । कलंकीलगायत राजधानी काठमाडौँका धुलो अत्यधिक हुने स्थानमा समेत रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । फोहर स्थानमा रक्तदान हुँदा रगत लिने र दिने दुवैको स्वास्थ्यमा असर गर्छ । उनले भने, “सफा ठाउँमा रक्तदान नहुँदा एकातिर रगत दिनेको स्वास्थ्यमा असर गर्छ भने रगत लिनेले पनि सफा पाउँदैन ।” रक्तदानका लागि न्यूनतम वातावरणीय सफाइको मापदण्ड हुनुपर्नेमा उनको जोड छ । 

    नेपालमा बिरामीलाई आवश्यक पर्दा रगतको अभाव छ । माग र रगतको आपूर्तिका बीचको खाडलका कारण वर्षेनी रगतको अभाव भइरहेको हो । धेरै वर्ष पहिलेदेखि देखिएको अभावको अवस्थामा खासै सुधार भएको छैन । रगतको अभाव पूर्ति गर्न भन्दै धेरै सरकारी, गैरसरकारी वा निजी संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गर्छन् । 

    रगत संकलनका लागि रेडक्रस सोसाइटीबाट प्रतिनिधि ती स्थानमा पुग्छन् । रक्तदाताको स्वास्थ्य अवस्थाको जाँच ती स्थानमा जाँच हुँदैन । नियमित रक्तदाता भन्छन्, “यसले रगतको अभाव त कम गर्ला तर रक्तदाताको स्वास्थ्य अझै खराब हुन सक्छ ।” कतिपय रक्तदाता रक्तदानपछि थप बिरामी भएका घटना धेरै छन् । स्वास्थ्य संस्थामा नै रक्तदान गर्दासमेत रक्तदाताको सामान्यसमेत स्वास्थ्य जाँच हुँदैन । 

    रक्तदाताले धेरै पटक रक्तदान गरेकालाई समेत सरकारले सम्मान र सहुलियत नदिएको गुनासो गर्दै आएका छन् । व्यक्तिले आफूले यति पटक रक्तदान गरेको भने पनि कसले कति रगत लियो र कसले कति दियो भन्ने तथ्यांक नभएको अर्का रक्तदाता भक्त भट्टराईले बताए । 

    उनले भने, “हामीले दिएको रगत कति प्रयोग भयो भन्ने हामीले जान्न पाउनुपर्छ ।” रक्तदाताको सम्मान गर्दा मात्रै नयाँ रक्तदाता थप्न सकिने उनले बताए । 

    एकपटक रक्तदान गरेका व्यक्ति पटकपटक गर्छन् । तर पहिलो पटक रक्तदान गराउन गाह्रो हुन्छ । ५० पटक भन्दा बढी रक्तदान गरेकालाई आ–आफ्नो ठाउँमा रक्तदानका लागि प्रेरित गर्न लगाउनुपर्ने राजेन्द्र सुनुवारले बताए । उनले भने, “हामी आफ्ना क्षेत्रमा खटिनका लागि तयार छौँ ।” 

    दुर्घटना, प्रसूति, क्यान्सरका बिरामी र शरीरमा रगतको कमी भएका बिरामीलाई रगतको बढी आवश्यकता पर्छ । विभिन्न संस्थाले नियमित र कतिपयले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्दै आएका छन् । नेपालमा अझै पनि मागअनुसारको रगत छैन । रक्तदाताले निःस्वार्थ भावनाले निःशुल्करुपमा रक्तदान गरेपनि रगत लिन चाहने व्यक्तिले निःशुल्क पाउँदैनन् । थोरै शुल्क लिँदै आएकामा पूर्णरुपमा निःशुल्क हुनुपर्नेमा रक्तदाताको माग छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast