आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    आँखा दान पुण्य काम ! भरतपुर आँखा अस्पतालद्वारा ३० जनाको आँखाको नानी प्रत्यारोपण

    चितवन र छिमेकी जिल्लाका बासिन्दालाई सहज होस् भन्नका लागि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको र सफल हुँदैगएको भनाई

    सोमबार, १८ आषाढ २०७५, आहाखबर
    फाइल फोटो

    चितवन, १८ असार 

    भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ । 

    गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार यस अवधिमा १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको छ । 

    अस्पतालले संकलन गरेको ६ जनाको आँखाको नानी झिकेर तिलगंगाको आँखा बैंकमा पठाएको उनले बताए । तिलगंगाले प्रशोधनको शुल्क रु छ हजार लिएर नानी पठाउने गर्छ । अस्पतालले आँखाको प्रकृतिअनुसार रु १० हजारदेखि रु ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण गर्दै आएको मास्केले बताए । 

    अस्पतालले आँखाको नानी प्रत्यारोपणका लागि डा पुष्पा गिरी श्रेष्ठलाई भारतको तामिलनाडु अध्ययन गर्न पठाएको थियो । उनि फर्किएपछि गतवर्षदेखि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको हो । 

    डा श्रेष्ठका अनुसार आँखाको नानीमा चोटपटक लागेर नदेख्ने भएको तर नसा एवं पर्दा ठीक भएका बिरामीको आँखा प्रत्यारोपण गर्न सकिन्छ । यससँगै लामो समयदेखि फुलो परेर आँखामा समस्या आएकाकोसमेत प्रत्यारोपण गरिँदै आएको छ । अस्पतालमा हाल चारजनाले आँखाको नानी प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् । तिलगंगामा दाताभन्दा प्रत्यारोपण गर्ने बढेपछि पालो कुर्नुपर्ने अवस्था छ । 

    भरतपुर आँखा अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो । संघका कार्यबाहक अध्यक्ष कृष्णराज धरेलले आँखा दानका विषयमा जिल्ला तहमा पनि प्रचारप्रसारको काम भइरहेको बताए । आँखा दान पुण्य काम हो भन्ने जनमानसमा बुझाउन सकेमा प्रत्यारोपणका लागि पालो कुर्ने अवस्था नआउने उनि बताए । चितवन र छिमेकी जिल्लाका बासिन्दालाई सहज होस् भन्नका लागि आँखाको नानी प्रत्यारोपण गर्न थालिएको र सफल हुँदैगएको उनले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast