बुधबार, कार्तिक ६, २०७६
    साहित्य

    कथाकार सविता श्रेष्ठ बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

    कृतिकारको जीवनलाई पनि यसले धेरथोर समेटेको छ, यस्ता सिर्जनाले मानिसको मनलाई छुन्छ

    शुक्रबार, १५ आषाढ २०७५, आहाखबर

    काठमाडौँ, १५ असार

    कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) शुक्रबार यहाँ लोकार्पण भएको छ । 

    साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भने । 

    सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस् भन्ने शुभकामना दिए । 

    नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उनका कृतिलाई पाठकमाझ ल्याउन पाएकामा खुशी व्यक्त गरे । 

    कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तुति रहेको बताइन् । 

    कृतिको समीक्षा गर्दै साहित्यकार मोमिलाले भने, “कृतिले आममानिसको जीवन बोलेको छ, कृतिकारको जीवनलाई पनि यसले धेरथोर समेटेको छ, यस्ता सिर्जनाले मानिसको मनलाई छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ ।” 

    स्रष्टा श्रेष्ठले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगत्लाई समेट्ने प्रयास गरेको उनले बताए । 

    सर्जकका जीवनसाथी सुमन श्रेष्ठले घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताए । 

    नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरित र कोषाध्यक्ष पुष्पा खनालले कृतिका विविध पक्षमाथि प्रकाश पारे । 

    कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग (कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् । 

    यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेखेको सो कृतिमा विमल भौकाजीले सम्पादन गरेका हुन् । 

    कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर यो कृति बजारमा ल्याएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast