आईतवार, असोज ५, २०७६
    स्वास्थ्य

    वंशाणुगत रोग सिकलसेल नियन्त्रण गर्न स्थानीय तहको भूमिका

    सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचारलगायतका विषयमा जानकारी गराइएको थियो

    बिहिवार, १४ आषाढ २०७५, आहाखबर

    दाङ, १४ असार 

    विशेष गरी थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल एनिमियाको पहिचान गरी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइएको छ । 

    दंगीशरण गाउँपालिका वडा नं ३, ४ र ५ का बासिन्दालाई लक्षित गरी बुधबार भएको सिकलसेल एनिमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् । 

    दाङका दशवटै स्थानीय तहले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनीहरुको भनाइ थियो । थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सिकलसेल एनिमिया रोगको पहिचान गरी न्यूनीकरण गर्न गाउँपालिकाले भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । 

    कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानका सहायक डीन डा राजेश्वर अर्याल, दंगीशरण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर चौधरी, हेकुली स्वास्थ्य चौकीका इञ्चार्ज टेकबहादुर खत्री, सिएमए संघ, दाङका अध्यक्ष मुकेशकुमार बुढाथोकीलगायतले रोगको न्यूनीकरणमा सबैको भूमिका हुनुपर्ने बताएका थिए । 

    हेकुली स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नम्बर ३, ४ र ५ का गरी ५० जनाको सहभागिता रहेको थियो । सिकलसेल एनिमियाको परिचय, लक्षण, परीक्षण, उपचारलगायतका विषयमा जानकारी गराइएको थियो जसको प्रशिक्षकमा डा राजेश्वर अर्याल, ल्याब टेक्निसियन विजयकुमार चौधरी, रमेश पछलदंग्या थारु रहेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast