बिहिवार, मंसिर ५, २०७६
    धर्म-संस्कृति

    विवाहको ८ प्रकार : कस्तो छ हिन्दू धर्मको विवाह संस्कार ?

    विवाहलाई एउटा अनिवार्य संस्कार बनाइयो, दुई आत्माको पवित्र बन्धनका रूपमा लिन थालियो, अविवाहित मानिस अधुरो हुने मानिन थालियो

    मंगलवार, १२ आषाढ २०७५, आहाखबर

    एजेन्सी, १२ असार 

    विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् ।

    विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।

    मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । हिन्दू समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आफ्नी छोरी अरूलाई सुम्पँदा धार्मिक विधि अपनाउने गरिएको देखिन्छ ।

    रोचक कथा

    विवाहको चलनबारे हाम्रा पुराणमा रोचक कथा पाइन्छ । ऋषि उद्दालककी पत्नीलाई कुनै बलियो व्यक्तिले जबर्जस्ती लैजान बल गर्‍यो । यो देखेर उद्दालकले कुनै प्रतिक्रिया जनाएनन् । श्वेतकेतुलाई भने आˆनी आमामाथि बलजˆती भएको मन परेन ।

    उनले त्यसको प्रतिकार गरे । उद्दालकले छोरालाई भने- ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो ।’ यस घटनाले श्वेतकेतुलाई यति असर गर्‍यो कि पछि उनले जबरजस्ती अर्कालाई उठाउने व्यवस्थाको अन्त्य गरे । उनले एक पत्नी-एक पतिको व्यवस्था सुदृढ बनाउन प्रयास गरे ।

    अर्को एउटा प्रसङ्गअनुसार दीर्घतमा नाम गरेका ऋषि थिए । उनी जन्मान्ध थिए । उनको निरङ्कुश यौनाचारको बानी सहन नसकेर पत्नीले उनलाई त्यागिन् । यो देखेर दीर्घतमाले महिलाले श्रीमानलाई छोड्न नहुने नियम बनाए । यी सबै घटनामा पतिपत्नीको अनिवार्यता देखिए पनि विवाह र धार्मिक क्रिया जोडिएका थिएनन् ।

    विवाहको परम्परा

    हिन्दू समाजमा विवाहको परम्परा बसाल्ने श्रेय उद्दालकपुत्र श्वेतकेतुलाई दिइन्छ । उनले थिति बसाल्नुअघि विवाहको चलन थिएन । महिला र पुरुष केही समयको सम्झौता गरेर बस्दथे । सम्झौतामा यतिवटा सन्तान जन्मिउन्जेल सँगै बस्ने, त्यसपछि स्वतन्त्र हुने, अन्य महिला वा पुरुषसँग शारीरिक सम्बन्ध राख्ने वा नराख्नेजस्ता विविध विषयमा मौखिक समझदारी हुन्थ्यो ।

    रामायणको रोचक प्रसंग

    पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउन रामायणमा एउटा रोचक प्रसंग छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई जंगलमा छाडेपछि भएको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने भएका कारण रामले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।

    महाभारत कालसम्म आइपुग्दा चार वणाश्रमको व्यवस्था भइसकेको देखिन्छ । महाभारतको आदिपर्वमा आश्रमधर्म र पतिव्रतधर्मको विषयमा उल्लेख गरिएको पाइन्छ ।

    शिक्षा ग्रहण गर्न गुरुकुल जाने र २५ वर्षको उमेरसम्म त्यहाँ बसेर ब्रहृमचर्य पालन गरी विद्या लिने काम सम्पन्न भइसकेपछि गृहस्थाश्रममा प्रवेश गर्नका निमित्त धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाहलाई एउटा अनिवार्य संस्कार बनाइयो । दुई आत्माको पवित्र बन्धनका रूपमा लिन थालियो । अविवाहित मानिस अधुरो हुने मानिन थालियो ।

    पछिपछि विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित हुन थाल्यो । सम्पत्तिकै अवस्था हेरेर बहुपत्नी तथा बहुपतिजस्ता चलनसमेत सुरु हुन थाल्यो । समयको आवश्यकता अनुसार एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुने आदिजस्ता अनेकौं नियम थपिन थाल्यो ।

    आठ प्रकारका विवाह

    शास्त्रीय परम्पराअनुसार विवाह आठ प्रकारका हुन्छन् । ती हुन्-ब्राह्म, दैव, आर्ष, प्राजापत्य, गन्धर्व, आसुरी, राक्षसी तथा पैशाच विवाह । यी आठ विवाहमध्ये ब्राह्म विवाह नै श्रेष्ठ एवं मान्यताप्राप्त बताइएको छ भने अरू विवाह कुनै मध्यम एवं कुनै निकृष्ट कोटिमा पर्छन् ।

    यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ । परम्परागत रूपमा मागी विवाहको सर्वव्यापकता थियो । कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए । हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ ।

    एक प्रकारले यो मान्य भइसकेको छ । जारी विवाहको प्रचलन हराउँदै गएको छ । गाउँघरमा दुईचारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती भन्ने चलन छ ।

    प्राचीन कालको कुरा गर्दा हिन्दू समाजमा विवाह भोगविलासको साधन नभई धार्मिक संस्कार हो । हिन्दूहरूले पालना एवं अनुशरण गर्नुपर्ने सोर्‍ह संस्कारमध्ये विवाह पनि एक हो । संस्कारहरू शुद्ध जीवनशैली व्यतीत गर्ने उद्देश्यले बनाइएका नियम हुन् । संस्कारले अन्तस्करण शुद्ध बनाउँछ, संस्कारजनित विवाहबाट सुखद दाम्पत्य जीवन व्यतीत गर्न सकिन्छ । संस्कारभित्र पर्ने विवाह ब्रह्म विवाह हो ।

    ब्राह्म विवाहः दुवै पक्षको सहमतिमा समान वर्ग एवं मिल्दो उमेरका सुयोग्य वरसँग कन्याको सहमतिमा निश्चित गरिने विवाह ब्रह्म विवाह हो । यो विवाहमा वैदिक रीतिरिवाज एवं नियमको पालना गरिन्छ । आभूषण, वस्त्र आदिबाट अलङ्कृत गरेर कन्यादान गरिन्छ ।  विवाह नै उत्तम विवाह हो । यस विवाहमा दुवै पक्षको सहमतिबाट समान वर र कन्याको विवाह निश्चित गरिने भएकाले अहिलेको मागी विवाहलाई यस खालको विवाह मान्न सकिन्छ ।

    दैव विवाहः यस विवाहमा कुनै तपस्वीलाई कन्यादान गरिन्छ । कन्या दानमा दिइन्छ । यसमा कुनै सेवा कार्यको मूल्यको रूपमा, धार्मिक कार्य वा उद्देश्यले कन्याको सहमतिमै विधिवत् विवाह हुन्छ । पतिपत्नी दुवैले एकसाथ धर्माचरणको व्रत लिने यस किसिमको विवाहलाई मध्यम मानिन्छ ।

    प्राजापत्य विवाहः यस्तो विवाहमा कन्यासँग अनुमति लिइँदैन । अभिभावकले योग्य वर हेरेर कन्याको विवाह गरिदिन्छन् । विशेषगरी यस्तो विवाहमा आमाबाबुले कुनै धनीमानी एवं प्रतिष्ठित व्यक्तिसँग कन्याको सहमतिबेगर नै विवाह गरिदिन्छन् ।

    आर्ष विवाहः यस विवाहमा कन्यापक्षलाई कन्याको मूल्यका रूपमा वर पक्षबाट विशेषगरी कन्याको आमाबाबुलाई गाई वा जोडी गोरु दिने चलन हुन्छ ।

    गान्धर्व विवाहः यस विवाहमा परिवारको सहमति हुँदैन । कुनै रीतिरिवाज अपनाइँदैन । विवाहको उमेर पुगेका युवायुवतीले एकअर्कालाई मन पराएपछि अभिभावकको सहमति नलिई गरिने विवाह गान्धर्व विवाह हो ।

    आसुरी विवाहः यस्तो विवाहमा वरपक्षद्वारा शुल्क दिएर कन्या ग्रहण गरिन्छ । कन्याका आफन्तलाई  धन या प्रलोभन देखाएर स्वेच्छाले कन्या प्राप्त गरिन्छ ।

    राक्षसी विवाहः यस्तो विवाहमा कन्याको सहमति हुँदैन । उसलाई अपहरण गरेर जबर्जस्ती विवाह गरिन्छ ।

    नेपालमा कुनै-कुनै जातिमा केही समय पहिलासम्म विभिन्न जमघट हुने ठाउँबाट आफूलाई मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने चलन थियो । यस्तो चलन अहिले धेरै कम भएको छ । त्यस्ती कन्यालाई घरमा फिर्ता लगिँदैन । अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ ।

    पैशाच विवाहः सुतेको अथवा नशामा उन्मत्त कन्यालाई एकान्तमा बलात्कार गरी जबर्जस्ती ग्रहण गर्नुलाई पैशाच विवाह भनिन्छ ।

    माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मानेको छ । चाणक्य भन्छन्- ‘कन्याको बुबाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मर्यादाअनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रसन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’

    माथि चर्चा गरिएका आठ प्रकारका विवाहप्रथा उल्लेख हुनुले त्यसबेला त्यस्ता प्रथा प्रचलित थिए भनेर अनुमान गर्न सकिन्छ । भनिन्छ, पुरातनकालमा विभिन्न जातिहरूको प्रचलित वैवाहिक चलन हेरेर मनु, पराशर आदि स्मृतिकारहरूले यी विवाहलाई मान्यता दिएका थिए । मनुले सुरुका चार विवाह ब्राहृमण वर्गका लागि, राक्षसी र गन्धर्व विवाह क्षत्रियका लागि र आसुरी विवाह वैश्य र शुऽ वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच विवाह आर्यहरूको कुनै वर्गका लागि उचित मानिँदैन थियो ।

    परिवर्तित विवाह

    वर्तमानमा विवाहका प्रचलन पनि समयानुकूल परिमार्जन भएका छन् । आफ्ना पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ-अवस्था-जाति एवं प्रकृतिअनुसार तिनले त्यसलाई टिप्दै आˆनो जीवनको अंग बनाएको पाइन्छ । विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रूपमा स्थापित भएको छ तर समयसँगै विवाहको शैली, वैवाहिक जीवनजस्ता कुरामा निकै ठूलो परिवर्तन देख्न सकिन्छ ।

    मानिसमाथि देवऋण, ऋषिऋण एवं पितृऋण गरी तीन प्रकारका ऋण हुन्छन् । यज्ञयागादि कार्यद्वारा देवऋण, स्वाध्यायबाट ऋषिऋण तथा उचित तरिकाले ब्राह्म विवाह गरी पितृहरूका लागि श्राद्धतर्पण गर्नयोग्य धार्मिक एवं सदाचारी छोरो जन्माएपछि पितृऋणबाट मुक्त हुन सकिन्छ । यसरी पितृहरूको सेवा तथा सद्धर्म पालनको परम्परा सुरक्षित बनाइराख्नका लागि सन्तान उत्पन्न गर्नु नै विवाहको परम उद्देश्य हो । यसै कारण ब्रह विवाह पवित्र संस्कारको रूपमा हिन्दू समाजमा स्थापित एवं मान्यताप्राप्त छ ।

    हिन्दू धर्मअनुसार विवाह त्यस्तो संस्कार हो जसलाई निकै सोचविचार गरी पूरा गर्नुपर्छ । टाढा टाढासम्मको रक्तसम्बन्धको छानबिन गर्नु आवश्यक छ । यसबाट दुवै पक्ष सन्तुष्ट भएपछि कामकुरो अघि बढ्छ । शुभ मुहूर्त वा लग्न निकालिन्छ । वैदिक पण्डितद्वारा कर्मकाण्ड पद्धतिअनुसार विवाह गराइन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast