आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    नेपाल-चीनबीच केरूङ हुँदै इलेक्ट्रिक कार्गो रेल काठमाडौं पुर्‍याउने सहमति

    प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता

    बिहिवार, ७ आषाढ २०७५, आहाखबर

    बेइजिङ, ७ असार

    केरूङहुँदै काठमाडौं आउने रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी  ली खछ्याङबीच बिहीबार अपरान्ह  भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने उल्लेख छ।

    यसअघि दुई देशबीच रेलका विषयमा चर्चा भए पनि कुन रेल काठमाडौं ल्याउने टुंगो भएको थिए।

    चीनले विभिन्न ठाउँमा यात्रुलाई मात्र लक्षित गरी रेलमार्ग बनाउने गरेको छ। कार्गो नबोक्ने त्यस्ता रेलमार्ग तीव्र गतिका रेल कुद्छन्।

    'कार्गो चल्ने रेलमार्गमा  यात्रुबाहक रेल पनि कुद्छन्, यसको गति भने अलि कम हुन्छ,' रेलवे विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले भने।

    यसअघि चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल  काठमाडौं  पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

    बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको  पनि बताएका थिए। 

    जेठ दोस्रो साता यो रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए। एक साता लामो स्थलगत अध्ययन सकेर उनीहरू स्वदेश फर्केका छन्।

    चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो। पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी अगस्टमा आउनेछ।

    आज भएका थप सहमतिमा विभिन्न ठाउँमा सुख्खा बन्दरगाह बनाउने,  विद्युत लाइन विस्तार गर्नेलगायतका  विषय छन्।

    दुई देशबीच तातोपानी र केरूङमा पक्की पुल बनाउने र मानव स्रोत र थिंक ट्यांकको आदान-प्रदान गर्ने विषयमा सहमति भएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast