आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने : सूचना आयुक्त बाँस्कोटा

    कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड

    बिहिवार, ७ आषाढ २०७५, आहाखबर

    भक्तपुर, ७ असार 

    राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताएका छन् । 

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ बिहिबार आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले कतिपय कर्मचारीले अझै पनि सहजरुपमा सूचना नदिने र सूचना अधिकृत पनि नराख्ने गरेको पाइएकाले त्यस्तालाई कारबाही गर्नुपर्ने बताए । 

    कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड दिए । 

    जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आम नागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहजरुपमा सूचना उपलब्ध गराउने वातावराण मिलाउन सुझाव दिए । 

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्न र सहजरूपमा सूचना प्रदान गर्नका लागि संयन्त्र बनाउन निर्देशन दिने जानकारी गराए  

    सूचना अभियन्ता एवं गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष सोम शर्मा (बजगाईं)ले सूचनाको हकका बारेमा गाउँगाउँका र तल्लो तहका नागरिकसम्मलाई जानकारी गराउनुपर्नेमा जोड दिँदै नागरिकले सूचनाको हकअधिकारका बारेमा जानकारी नपाएसम्म सूचना मागको औचित्य नहुने बताए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित उपत्यका सचिव अमर भुजु, सदस्यद्वय भगवती थापा र लक्ष्मी गारुलाई सम्मान गरिएको थियो । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast