सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    प्रधानमन्त्रीद्वारा स्कुल विभागको संग्रहालय अवलोकन, नेपाल–चीनमैत्री दौडको उद्घाटन (९ फोटो)

    ओलीले पार्टी स्कुल विभागको विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिने, चीनका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्दै

    बिहिवार, ७ आषाढ २०७५, विशेष प्रतिनिधि हरि लामिछाने.

    बेइजिङ, चीन, ७ असार  

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे । 

    सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् । 

    अवलोकनका क्रममा उनका धर्मपत्नी राधिका शाक्यसहित भ्रमणदलमा सहभागी मन्त्रीहरु, सांसद र सरकारी उच्च अधिकारीको सहभागिता थियो । यस संग्रहालयमा कम्युनिष्ट नेताले आफ्ना कार्यकर्तालाई कसरी अनुशासित गर्ने तथा पार्टीका बारेमा कसरी प्रशिक्षित गर्ने भन्ने कुरा झल्काइएको छ । 

    पार्टीको संगठनका विषयमा कुन विषय सही र कुन गलत हो भन्ने विषयबारे जानकारी गराइनेबारे तस्बीर तथा यहाँ संग्रहित वस्तुले जानकारी दिन्छ । 

    माओका विचारलाई अगाडि बढाउने र चिनियाँ विचार तथा शैलीसहितको समाजवादको विकास कसरी गर्ने भन्ने विषयमा पनि यस संग्रहालयले जानकारी दिन्छ । प्रधानमन्त्री ओलीले पार्टी स्कुल विभागको आयोजनामा विकास र समृद्धिमा राजनीतिक दलको भूमिका विषयमा प्रवचन दिँदै छन् भने आजै चीनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै छन् । 

    प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

    चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको बिहिबार उद्घाटन गरे । 

    नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो । 

    उद्घाटनअघि प्रधानमन्त्री ओलीसँग चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानले वार्ता गरे । सो अवसरमा उनले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न सकिने विश्वास व्यक्त गरे । 

    प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका खेलकुदमा दुई देशबीच सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि दुई देशका सम्बिन्धित निकायलाई त्यसतर्फ अघि बढाउने बताए । 

    प्रतियोगितामा नेपाल र चीनका गरी तीन दर्जनबढी युवा सहभागी थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast