सोमबार, असोज ६, २०७६
    राज्य-समाज

    विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न अपरिहार्य : सभामुख महरा

    दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सभामुख महराले अब जनताको जीवनस्तर उकास्ने शैलीबाट विकास गरिनेसमेत आश्वासन दिए

    बुधबार, ६ आषाढ २०७५, आहाखबर

    दाङ, ६ असार  

    सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । 

    विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिए ।अबको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आवश्यक रहेको भन्दै उनले आमनगरवासीलाई विकासको अनुभूत हुने गरी काम गर्न आग्रह गरे । 

    उनले नगरले सक्ने योजनालाई आवश्यकतामा आधारित ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रीय सरकारले पूर्णता दिने उल्लेख गरे।

    दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सभामुख महराले अब जनताको जीवनस्तर उकास्ने शैलीबाट विकास गरिनेसमेत आश्वासन दिए । 

    कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रक्रियालाई सहज ढंगले अघि बढाउन आग्रह गरे । सभामुख महरा स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्वसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आएका हुन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast