आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    चिनियाँ रेल छिट्टै काठमाडौं पुग्छ, उपयुक्त समयमा नेपाल भ्रमण गर्नेछु : चिनियाँ राष्ट्रपति

    पूर्वाधार विकास प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीद्वारा पनि रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड

    बुधबार, ६ आषाढ २०७५, आहाखबर

    बेइजिङ, ६ असार

    राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।

    पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    रेल्वे निर्माणबारे बिहिबार दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो ।

    अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।

    चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’

    राष्ट्रपति सी नेपालले अघि सारेको प्राथमिकता र दृष्टिकोणको सानिध्यमा रहेको पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘छलफलबाट हामी उत्साहित छौं ।’

     

    उपयुक्त समयमा नेपाल भ्रमण

     छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले  चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

    बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् । 

    राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो । 

    सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए। 

    नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गरे । 

    राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे। 

    प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उनले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताए। 

    सोहि अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित हुनुभएकामा राष्ट्रपति सी लाई हार्दिक बधाई दिए। 

    उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । 

    दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । 

    सो वार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी थिए । 

    चीनका तर्फबाट राष्ट्रपति सी, विदेशमन्त्री वाङ यीलगायत वरिष्ठ चिनियाँ अधिकारीको सहभागिता थियो । 

    राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

    सो अवसरमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान प्रस्तुत गरेको थिए । 

    चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका  थिए । 

    प्रधानमन्त्री ओली बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा सहभागी थिए । 

    उनले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा पनि सहभागी थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast