बिहिवार, कार्तिक २८, २०७६
    विज्ञान/प्रविधि

    ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध विद्यार्थीले २१ नयाँ उपकरण निर्माण

    “ड्रोनको निर्माण अन्तिम चरणमा पुगेको र अब परीक्षणको क्रममा छ तर सञ्चालन तथा उपयोगका लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ”

    आईतवार, २० जेष्ठ २०७५, आहाखबर

    नुवाकोट, २० जेठ

    ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँका विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् । 

    लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण प्रयोगमा ल्याएका हुन् । उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीमा समेत राखिएको छ । 

    अध्ययनका क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए । 

    “बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट २०७२ सालको माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थीमात्र क्लबमा आबद्ध छौं ।” अध्यक्ष पाण्डेले भने, “विद्यालय तह, दश जोड दुई र अहिले केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनका क्रममा पाठ्यक्रममा उल्लिखित विषयवस्तुको सहयोगले नयाँ उपकरण बनाउन सफल भएका हौ ।” 

    राति आफैँ बल्ने र दिउँसो आफैँ निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक अन्य उपकरण दैनिक जीवनमा प्रयोग गरी लाभ लिन सकिने क्लबका उपाध्यक्ष जनार्दन ढकालले जानकारी दिए । 

    “ड्रोनको निर्माण अन्तिम चरणमा पुगेको र अब परीक्षणको क्रममा छ तर सञ्चालन तथा उपयोगका लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ”, ढकालले भने । 

    एक्काइस प्रकारका नयाँ आविष्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मेहनत खर्चनु पर्र्छ ।” उनले भने, “ अब हामीले मानिसको दैनिकीमा सहयोग पुग्ने खालका उपकरण निर्माणमा लाग्ने सोच बनाएका छौँ ।” 

    क्लबमा आबद्ध विद्यार्थी हाल सुरक्षा प्रणाली, सेन्सर, स्वचालित र रोबर्ट प्रणालीलगायतका उपकरण निर्माणमा जुटेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast