बिहिवार, कार्तिक २८, २०७६
    विज्ञान/प्रविधि

    बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी

    पार्कका लागि शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र, मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरपालिकामा पर्ने अन्य क्षेत्रका बारेमा अध्ययन भइरहेको

    शुक्रबार, ११ जेष्ठ २०७५, आहाखबर

    रुपन्देही, ११ जेठ

    बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ । 

    “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने । 

    उनले यस क्षेत्रमा प्रदेशस्तरको जिओलोजिकल पार्क बनाउने मौखिक प्रस्ताव उपमहानगरपालिकाले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष गरेको उल्लेख गर्दै प्रदेश सरकारले तत्काल जग्गा खोज्न निर्देशन दिएको बताए । सो पार्कका लागि शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र, मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरपालिकामा पर्ने अन्य क्षेत्रका बारेमा अध्ययन भइरहेको सुवेदीले जानकारी दिए । 

    मुख्यमन्त्री पोखरेल, प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल र योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठसहितको टोलीले सम्भावित तथा प्रस्तावित क्षेत्रको अवलोकन गरेको थियो । उपप्रमुख आचार्यले प्राविधिक अध्ययनपछि पार्क कहाँ राख्ने भन्ने विषय निश्चित हुने बताए । बुटवलको झण्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने वातावरण सन्तुलित राख्न करीब ४३ प्रतिशत भूमि वन क्षेत्रले ढाक्नुपर्ने बताइएको छ । 

    जिओलोजिकल पार्कका लागि उपयुक्त जग्गा निश्चित हुनेबित्तिकै डिपिआर तयार हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले बताए । भूगर्भीय पार्कका बारेमा अध्ययन गर्न डा सागर न्यौपानेसहित विज्ञ टोलीले हालै बुटवलका विभिन्न क्षेत्रको अध्ययनसमेत गरेको यसका अर्का अभियन्ता बलबहादुर आचार्यले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast