सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    कृषिमन्त्रीको डिडिसीलाई चेतावनी : सुध्रने कि नसुध्रने ? हैन भने बन्द गर सब

    सधैँ घाटामा सञ्चालन गर्ने भए बन्द गर्न र होइन भने आन्तरिक समस्या समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको भनाई

    शुक्रबार, ४ जेष्ठ २०७५, आहाखबर

    काठमाडौँ, जेठ ४ 

    सरकारले दुध वितरण आयोजना (डिडिसी) विराटनगरले स्तरोन्नति नगरे सोच्न बाध्य हुने चेतावनी दिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी, सचिव युवकध्वज जिसीसहित अनुगमनमा गएका मन्त्री चक्रपाणि खनाल बलदेवले त्यसविरुद्ध सोच्न बाध्य हुने चेतावनी दिएका हुन्।

    सरकारले आगामी दुई वर्षभित्र दुधमा आत्मनिर्भर हुने गरी कार्ययोजना बनाए पनि डिडिसीको उत्पादन त्यसअनुसार नरहेको उनको भनाइ छ। डिडिसी प्रविधिमा निक्कै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने मन्त्री खनालले बताए। ‘जनताको जीवनस्तर जहाँ पुगेको छ, त्यसलाई हेर्दा धेरै सुधार गर्नु पर्ने देखिएको छ ’, मन्त्री खनालले भने ।

    अनुगमनपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले भने, ‘संस्थाभित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पनि पारदर्शिता छैन भन्ने गुनासो आएको छ, त्यसलाई राम्रोसँग अनुगमन गरिन्छ र अनियमितताका बावजुत संस्था पनि घाटामा चलिरहेको छ भने त्यस्तो संस्थालाई बचाई राख्न आवश्यक छैन ।’

    सधैँ घाटामा सञ्चालन गर्ने भए बन्द गर्न र होइन भने आन्तरिक समस्या समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको उनले बताए।

    दुधमा आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि बाहिरबाट ठूलो मात्रामा दुध आयात भइरहेको भन्दै उनले दुध उत्पादनका लागि राम्रो प्लान्ट जरुरी रहेको बताएका छन् ।

    काठमाडौंमा पनि अनाधिकृत, विनालेवलका, स्रोत नखुलेका, गुणस्तरहीन कृषि उपजहरु पाइएको र अनुगमनका क्रममा विराटनगर पनि त्यसबाट अछुतो नरहेको उनको भनाइ थियो ।

    मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको बताएका छन्। आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनलाई आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी दिएका छन्।

    भारतबाट अमुल लगायत केही कम्पनीको धुलो तथा विभिन्न किसिमका दुध नेपाली बजारमा आइरहेको र निजी क्षेत्रले पनि अपेक्षित योगदान गर्न नसकिरहेकोले आयोजनाको विकास जरुरी रहेको मन्त्री खनालले बताए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast