बुधबार, कार्तिक २७, २०७६
    कृषि-उर्जा

    औद्योगिक क्षेत्र पनि भयो लोडसेडिंग मुक्त, उद्योग व्यवसायी अत्यन्त हर्षित

    प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन्

    सोमबार, ३१ बैशाख २०७५, आहाखबर

    काठमाडौँ, बैशाख ३१ 

    घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । 

    विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्भार प्रेषण केन्द्रको स्थलगत निरीक्षण गरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका अधिकारीलाई नयाँ सरकार आएको अनुभूति दिन तत्काल औद्योगिक क्षेत्रमा विद्युत्भार कटौती अन्त्य गर्न निर्देशन दिए । 

    मन्त्री पुनको निर्देशन थियो, नयाँ सरकार, नयाँ व्यवस्था र नयाँ अपेक्षालाई पूरा गर्न नै भए पनि वैशाखको एकै दिन बाँकी रहँदासमेत औद्योगिक क्षेत्रमा विद्युत्भार कटौतीको अन्त्य गर्नुपर्यो । मन्त्री पुनको निर्देशनलगत्तै प्राधिकरणले आन्तरिक तयारी गर्यो । कार्यकारी निर्देशक घिसिङका शब्दमा “औद्योगिक क्षेत्रलाई नियमित विद्युत् आपूर्ति गर्न सक्छौ कि सक्दैनौँ भनेर हामीले विभिन्न परीक्षण गर्यौ  परीक्षणको फलस्वरुप आज हामीले सफलता हासिल गरेका छौँ ।” 

    प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समयमा दैनिक तीन घण्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्दै आएको थियो । कार्यकारी निर्देशक घिसिङका अनुसार आजदेखि औद्योगिक क्षेत्रले पनि नियमति चौबिसै घण्टा विद्युत् पाएका छन् । बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रमा वीरगञ्ज र हेटौंडा रहेका छन् । 

    यस्तै, विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत नियमित विद्युत् आपूर्ति गरिएको छ । वैशाखमा नै नियमित वर्षा भएकाले नदीमा पानीको मात्रा बढेको छ । पानीको मात्रामा भएको बढोत्तरीका कारण पनि विद्युत् उत्पादनमा वृद्धि भएको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ । 

    प्राधिकरणले हालसम्म ७६ जिल्लामा विद्युत् सेवा उपलब्ध गराएको छ । गत फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेको छ । कूल ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य ग्राहकले ४१.८५ प्रतिशत विद्युत् उपभोग गरेका छन् । 

    यस्तै, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत् उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकले २२.५४ प्रतिशत विद्युत् उपभोग गरिरहेका छन् । प्राधिकरणका अनुसार हाल एक मेगावाट भन्दा माथिका ७३ परियोजनाले ९९५ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता राख्दछन् । यस्तै एक मेगावाट भन्दा कम क्षमताका १५ आयोजनाबाट ११ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको छ । 

    यस्तै भारतबाट हाल ४५० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट नियमित रुपमा ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

    यस्तै प्राधिकरणको अर्ध जलाशयुक्त आयोजनाका रुपमा रहेको कालीगण्डकी ‘ए’बाट १४४ मेगावाट, मध्यमस्र्याङदीबाट ७० र चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । “नदीमा पानीको मात्रा बढ्दै गएका कारण हामीलाई औद्योगिक क्षेत्रको विद्युत्भार कटौतीका लागि सहज भएको हो”, कार्यकारी निर्देशक घिसिङले भने । 

    खोला तथा नदीमा वृद्धि भएको पानीको बहावका कारण नदी प्रवाही आयोजनाबाट विद्युत् उत्पादनमा भएको वृद्धि, अर्धजलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी विद्युत्भार पूर्ण रुपमा अन्त्य गरिएको छ । 

    उनले भने , “आजदेखि देशभरको विद्युत्भार कटौती इतिहास भएको छ ।” अहिले औद्योगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए  । 

    प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौँ उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई विद्युत्भार कटौतीमुक्त गरेको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले आफूहरुको सकारात्मक पहलका कारण औद्योगिक क्षेत्रका ग्राहकलाई पनि नियमित विद्युत् दिन सकिएको बताए । 

    “सरकारको घोषणा सफल भएको छ । यस अवसरमा अब प्रणालीको सुधार तथा अन्य प्राविधिक कामलाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता देखिएको छ । त्यसलाई पनि हामी सुधार गर्छौं ।” 

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवं विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast