सोमबार, कार्तिक २५, २०७६
    कृषि-उर्जा

    अरुण तेस्रो विद्युत् आयोजना प्रदेश नं १ को समृद्धिको मुख्य आधार

    पच्चीस वर्षमा नेपालले १०७ अर्ब राजश्व पाउनेछ भने कम्पनीले व्यावसायिक उत्पादन शुरु भएपछि १० वर्षसम्म शतप्रतिशत नै आयकर छुट पाउनेछ

    शनिबार, २९ बैशाख २०७५, आहाखबर

    संखुवासभा, २९ वैशाख

    विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना हो । 

    अरुण तेस्रो सञ्चालनमा आए प्रदेश नं १ को समृद्धि हुने देखिन्छ भने देशले समेत विद्युतीय क्षमतामा फड्को मार्ने धेरैले आँकलन गर्ने गरेका छन् । हालसम्म भएको विद्युत उत्पादनबाट अपुग भई अहिले भोग्नु परेको विद्युत्भार कटौतीको समस्या अरुण तेस्रोले समाधान गर्ने सम्भावना देखिएको छ । 

    यसअघि नै प्रभावित क्षेत्रका सर्वसाधारणले आयोजनाले उपभोग गर्ने जमिनको मुआब्जा उपलब्ध गराएसँगै उनीहरुको जीवनशैली फेरिएको छ । मुआब्जा पाएकाहरुले स्वरोजगारका लागि व्यावसायिक कार्यको थालनी गरेका छन् भने उनीहरु आर्थिकरुपमा समृद्ध भएको पाइन्छ । 

    आयोजनाको सम्झौताअनुसार २५ वर्षे आयोजना सञ्चालन करार अवधिमा नेपालले २१ दशमलव ९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । उक्त अवधिमा नेपालले पाउने निःशुल्क ऊर्जाको मूल्य करीब रु १५५ अर्ब हुने अनुमान छ । 

    पच्चीस वर्षमा नेपालले रु १०७ अर्ब राजश्व पाउनेछ भने कम्पनीले व्यावसायिक उत्पादन शुरु भएपछि १० वर्षसम्म शतप्रतिशत नै आयकर छुट पाउनेछ । त्यसपछिको थप पाँच वर्ष नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिनुपर्नेछ । यसले गर्दा आर्थिकरुपमा मुलुकलाई आयोजनाको प्रत्यक्ष सहयोग देखिन्छ भने प्रभावित क्षेत्रमा निगमले उपलब्ध गराउने निःशुल्क विद्युत्बाट राम्रो लाभ लिन सकिनेछ । 

    लामो समयदेखि अल्झिएको राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत काठमाडौँबाटै शुक्रबार शिलान्यास गरेका थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast