सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    सम्बन्धको नवीकरण !

    भारतीय प्रम मोदी आज नेपाल आउँदै, जनकपुरमा षोडसोपचार विधिबाट पूजा गर्ने

    मोदीको तेस्रो पटक हुन लागेको भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो २ देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा

    शुक्रबार, २८ बैशाख २०७५, –शरच्चन्द्र भण्डारी .

    काठमाडौँ, २८ वैशाख :

    प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै छन् । 

    भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ । राजनीतिक तहमा हुने यस्ता उच्चस्तरीय भ्रमणले एकार्काका पीरमर्का र विकासका आकांक्षा बुझ्न मद्दत मात्र पुग्दैन बदलिँदो विश्व परिवेशमा मतैक्यताका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा सहकार्य गर्न सघाउँछ । 

    प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा गरेका  तीन ‘ट्विट्’ले नेपालसँगको अनादिकालदेखिको भारतको परम्परागत सम्बन्धलाई नयाँ आलोकमा प्रस्तुत गर्न खोजेको प्रतीत हुन्छ । “लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ” नेपाल सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माणको परिकल्पना साकार पार्न सबल साझेदार हुने उत्कृट अभिलाषा उनले अभिव्यक्त गरेका छन् । 

    लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न तथा आर्थिक समृद्धि हासिल गर्ने नयाँ युगमा प्रवेश गरेको नेपाललाई अटल साझेदारका रुपमा भारत प्रस्तुत हुन चाहन्छ । - नरेन्द्र मोदी

    त्यस्तै अर्को ट्विटमा उनले नेपालसँगको सम्बन्धलाई भारतले उच्च महत्व दिएको प्रष्ट्याउँदै द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफ्ना समकक्षी ओलीसँग सघन वार्ता गर्ने बताएका छन् । निश्चय पनि उहाँको यो अभिव्यक्तिले विगतका रिक्तता र तिक्ततालाई तिलाञ्जलि दिएको संकेत मात्र गर्दैन भविष्यमा नेपाल–भारत मैत्री नयाँ नेपालको नयाँ संविधान जारी हुनुपूर्वको अवस्थामा पु¥याउने अपेक्षा गर्न सकिन्छ । 

    पर्यटन प्रवद्र्धन 

    जनकपुरधाम र मुक्तिनाथजस्ता विश्वविख्यात धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा हुने उहाँको भ्रमणले प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई भारतवर्षमा समुचित प्रवद्र्धन मात्र गर्नेछैन अपितु दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई एक अटुट कडीका रुपमा चित्रण गर्छ । संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव ज्ञानचन्द्र आचार्य द्विपक्षीय भ्रमण एकार्कालाई बुझ्ने अवसरका रुपमा चित्रण गर्नुहुन्छ । उनि प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन गर्ने, त्यसो हुन नसके पनि छलफल र समिचीन समीक्षा गर्ने, सम्बन्ध नवीकण गर्ने अवसर ठान्छन् । 

    दक्षिण र उत्तर कोरियाली नेताबीच हालै भएको ऐतिहासिक वार्ता, चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीचको हालैको भेटवार्तालगायत क्षेत्रीय रंगमञ्चमा विकसित घटनाक्रमलाई जोड्दै उनि भ्रमणले दुवै देशका जनतालाई फाइदा पुग्ने अभिमत प्रकट गर्छन् । 

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैंजू समसामयिक विश्वमा उदीयमान अर्थतन्त्रके रुपमा स्थापित लोकतान्त्रिक मुलुक भारतबाट समानताका आधारमा नेपालप्रति व्यवहार हुने विश्वास व्यक्त गर्छन् । पूर्व राजदूत सैंजु भारतले आफ्नो विशालता र प्रतिष्ठा तथा विज्ञान, प्रविधि र आर्थिक फाँटमा हासिल गरेको समृद्धिलाई गिज्याउने खालको व्यवहार भविष्यमा फेरि गर्दैन भन्ने सन्देश प्रधानमन्त्री मोदीले दिनुपर्छ भन्छन् । पुरानो भारतीय मानसिकता अब परिवर्तन हुनुपर्छ भने उनको ठम्याइ छ । मुक्तिनाथ र जनकपुरको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनलाई लाग्छ । 

    नेपाल र भारतबीच तीन वर्षअघि उत्पन्न चिसोपन अब हार्दिकतातर्फ उन्मुख भएको विश्लेषण सुनाउँदै भारतका विद्वत् वर्गमा दरिएका प्रा महेन्द्र पी लामा भन्छन्, “तीन वर्षअघि नेपाल र भारतबीच निर्मित एउटा गहिरो खाडल नेपालका प्रधानमन्त्री केपी ओलीबाट नयाँ दिल्ली भ्रमणले आधा पुरेको र अब प्रधानमन्त्री मोदीको नेपाल यात्राले बाँकी आधा खाडल पुर्नेछ । ” 

    तीन वर्षअघि नेपाल र भारतबीच निर्मित एउटा गहिरो खाडल नेपालका प्रधानमन्त्री केपी ओलीबाट नयाँ दिल्ली भ्रमणले आधा पुरेको र अब प्रधानमन्त्री मोदीको नेपाल यात्राले बाँकी आधा खाडल पुर्नेछ ।

    प्रधानमन्त्री मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने 

    आज जनकपुर भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्नेछन् । 

    मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । 

    जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनेछन् । षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन रहेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast