बुधबार, कार्तिक २७, २०७६
    कृषि-उर्जा

    सुनसरीमा बिहान एक्कासि आएको हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

    हावाहुरीका कारण जिल्लाका अधिकांश स्थानमा रुख बिरुवा ढलेर क्षतिग्रस्त, असिनापानीले ८० प्रतिशतमा क्षति पुर्याएको

    बुधबार, २६ बैशाख २०७५, आहाखबर

    इनरुवा, २६ वैशाख

    सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा बुधबार बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । 

    सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा बुधबार बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो । 

    असिना, पानी र हावाहुरीका कारण सुनसरीमा मात्र रु एक करोड मूल्य बराबरको क्षति तरकारी बाली, दलहन, रुख बिरुवा, आँप, लिचीलगायतका फलफूलमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । हावाहुरीका कारण जिल्लाका अधिकांश स्थानमा रुख बिरुवा ढलेर क्षतिग्रस्त बनेको स्थानीय चन्दन मेहताले बताए । 

    अचानक बुधबार बिहान ४ः३० बजेदेखि शुरु भएको हावाहुरी र असिनापानीले केरा, लहरे बाली, तरकारी बाली र वन नर्सरी तथा रुख बिरुवामा क्षति पुगेको स्थानीय वीरेन्द्र मेहताले बताए । 

    हावाहुरीले भित्र्याउन लागेको मकैबालीमा पनि क्षति पुगेको छ भने तरकारी बाली डुबानमा परेको कृषकले बताएका छन् । हावाहुरीले सिंगै रुख बिरुवा ढलेर सखाप भएका छन् भने केरा बाली पूर्णरुपमा सखाप भएको कृषकले बताएका छन् । हावाहुरीले जिल्लाका विभिन्न भागमा कैयौँ घर लडेर क्षतिग्रस्त भएको बबियाका शिक्षक देवकृष्ण यादवले बताए । 

    उता हावाहुरीका कारण केही स्थानमा विद्युत् पोलमा समेत क्षति भएकाले बिहानदेखि विद्युत् अवरोध भएको छ । जिल्लामा आँप, कटहर, लिची र जामुनमा राम्रो फल लागेको भएपनि हावाहुरी र असिनापानीले ८० प्रतिशतमा क्षति पुर्याएको कृषकले बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast