सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    सोमबार देखि शुरु भएको वाग्मती तीर्थयात्रा शनीबार बज्रयोगिनी सम्म

    रोकिएको वाग्मती तीर्थयात्रा ४० वर्षपछि सोमबारदेखि पशुपतिनाथ परिसरबाट शुरु

    आईतवार, १६ बैशाख २०७५, आहाखबर

    काठमाडौँ, १५ वैशाख

    वैशाख १० गते सोमबारदेखि शुरु भएको वाग्मती तीर्थ यात्राको छैटौँ दिनको कार्यक्रम वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट शुरु भयो । 

    शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबीचको रमणीयस्थल वाग्द्वारबाट शनीबार बिहान ७ बजे शुरु भएको यात्रा बज्रयोगिनी पुगेको छ । बूढानीलकण्ठमा पूजा र दर्शनसहित सात तीर्थस्नान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले राससलाई जानकारी दिए । 

    वाग्मती फोहर हुँदै गएपछि विसं २०३४ मा रोकिएको वाग्मती तीर्थयात्रा ४० वर्षपछि सोमबारदेखि पशुपतिनाथ परिसरबाट शुरु भएको थियो । 

    लामो समयपछि वाग्मती तीर्थयात्रा शुरु भएकाले स्थानीयवासीमा उत्साह बढेको यात्रा समूहले जनाएको छ । स्थानीयवासीले प्रत्येक तीर्थस्थलमा यात्रा समूहलाई स्वागत गर्दै अब प्रत्येक वर्ष निरन्तरता दिन माग गरेको कोषले जनाएको छ । 

    पाँचौँ दिन शुक्रबार सुन्दरीजलबाट शुरु भएको यात्रा वाग्द्वारमा पुगी बास बसेको थियो । शुक्रबार उपत्यकाका प्रमुख नदी वाग्मती, नागमती र स्यालमतीलगायत नौ तीर्थमा स्नान गरी सुन्दरीमाईमा पूजा एवं दर्शन गरिएको उनले बताए । 

    रोकिएको यात्रा ४० वर्षपछि पुनःसञ्चालन गर्न कोषले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गरेका छन् । १७ दिनको यात्रालाई यस वर्ष सात दिनमा झारिए पनि विधि सबै पूरा गरिएको उनले बताए । 

    वाग्मती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो । मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रासमेत परेको छ । यो कार्यक्रम मन्त्री रवीन्द्रप्रसाद अधिकारीले चैत १६ गते सार्वजनिक गरेका थिए । 

    ने मुनिले चलाएको विश्वास गरिने यो यात्रा वाग्मतीको कटुवाल दहबाट उद्गमस्थल वाग्द्वारसम्म १८ कोशको दूरीमा सञ्चालन हुन्छ । यात्रामा १६५ तीर्थस्थलमा स्नान, पूजालगायत धार्मिक विधि पूरा गरिन्छ । वाग्मती यात्रामा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरिने पुजारी भट्टले जानकारी दिए । 

    आइतबार बिहान बज्रयोगिनीबाट यात्रा शुरु गरी चाँगुनारायण र शंखतीर्थमा पूजा एवं दर्शन गरिनेछ । यसपछि यात्रा गुह्येश्वरी क्षेत्रमा आउनेछ । गुह्येश्वरी, मृगेश्वर (हरिणेश्वर) मा पूजा र दर्शन गरी विरुपाक्षलाई दहीच्यूरा खुवाउने कार्यक्रम रहेको सदस्य सचिव डा.ढकालले जानकारी दिए । सातौँ दिनको यात्रामा दुई तीर्थमा स्नान गरिनेछ । सोमबार बिहान रुद्रगाडेश्वरमा पूर्णाहुति हवनसहित सांगे गरिनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast