बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    मदन भण्डारी स्मृति पार्क उद्घाटन

    “देशमा अब व्यथितीको अन्त्य गर्दै थिती बसाल्ने समय आइसकेको छ”

    देश लोडसेडिङ मुक्त भईसकेको वर्तमान अवस्थामा अब छिट्टै अरु समस्या अन्त्य हुँदै सबै सडकहरु समेत फराकिला एवम् धुलोमुक्त हुने दाबी

    बुधबार, १२ बैशाख २०७५, आहा संवाददाता.

    काठमाडौं, बैशाख ११ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा व्यथितीको अन्त गर्दै थिती बसाल्ने समय आएको बताएका छन् । मंगलबार काठमाडौंको सुविधानगर तीनकुनेस्थित मदन भण्डारी स्मृति वाटिकाको उद्घाटन गर्ने क्रममा प्रम ओलीले अब देश कहिल्यै पनि पछाडी नफर्कने गरी विकास र सम्बृद्धिको बाटोमा अघि बढ्ने उद्घोष गरेका हुन् ।

    मुलुकमा राजनीतिक स्थिरता कायम भई शुषाशन तर्फ देश अघि बढ्दैछ, लोडसेडिङ अन्त हुँदैछ, विभिन्न बाटो–घाटोहरु बन्दैछन्, वर्षौंदेखि रोकिएका आयोजना पूरा हुँदैछन्, कतै अधिनायकवाद त आउँदै छैन ?

    अहिलेको सरकारको उद्देश्य देशको उन्नती गर्नु बाहेक अरु केही पनि नभएको उनको भनाई थियो । नेपाल सदियौं कालदेखि नै तपोभूमि, ज्ञानभूमि, पुण्यभूमि रहेको बताउँदै प्रम ओलीले आफूहरु नेपाललाई पूर्ववर्ति अवस्थाकै जस्तो स्वच्छ, हराभरा, सुन्दर, शान्त र समृद्ध बनाउन लागिपरेको बताए । 

    त्यस्तै, अब देश लोडसेडिङ मुक्त भईसकेको वर्तमान अवस्थामा अब छिट्टै नै यहाँका सडकहरु समेत फराकिला हुने तथा धुलोमुक्त हुने दाबी गरे । त्यस्तै, राजधानीमा अब चाँडै नै मेलम्चीको पानी आउन लागेको बताउँदै उनले भने, “यहाँका सडकहरुमा अब मेट्रो रेल कुद्ने छन् । हामी फाष्ट ट्रयाक बनाउँछौ, विकासका कुनै पनि कामहरु अब अधुरो रहनेछैनन् । अबको केही वर्ष भित्रैमा देशको मुहार फेरिने छ । यहाँका नागरिक अब अन्य मुलुकमा जाने होइन की अन्य देशका मानिसहरु बस्नका लागि यहाँ आउने हो ।”

    सम्बोधनका क्रममा एक फरक प्रसंगमा कुरा गर्दै प्रधानमन्त्रीले विपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाप्रति कटाक्ष समेत गरेका थिए । “मुलुकमा राजनीतिक स्थिरता कायम भई शुषाशन तर्फ देश अघि बढ्दैछ, लोडसेडिङ अन्त हुँदैछ, विभिन्न बाटो–घाटोहरु बन्दैछन्, वर्षौंदेखि रोकिएका आयोजना पूरा हुँदैछन्, कतै अधिनायकवाद त आउँदै छैन ?”

    झण्डै ३ रोपनी क्षेत्रफलमा फैलिएको तथा ३ करोड बढीको लागतमा निर्मित मदन स्मृती वाटिकाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले तत्कालीन कम्युनिष्ट नेता मदन भण्डारीको स्मरण गर्दै भने, “मदन भण्डारी उमेरमा म भन्दा केही महिना कान्छो हुनुहुन्थ्यो । तर, उहाँले आफ्नो जीवनको अत्यन्तै छोटो समयमै नेपाली समाजलाई दिशानिर्देश गर्नुभयो । उहाँको विचारको प्रभाव समकालीन विश्वमै परेको थियो भन्दा पनि हुन्छ । कुनै–कनै मानिसमा विशिष्ट खालको प्रतिभा हुने गर्दछ । त्यस्तैमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।” 

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधव कुमार नेपालले मदन भण्डारी जस्ता अथक योद्धाहरुकै कारण उत्प्रेरित भएर अघि बढ्न समाजलाई उर्जा मिलिरहेको जीकिर गरे ।

    कार्यक्रममा केन्द्रीय उर्जामन्त्री वर्षमान पुन, खेलकुदमन्त्री जगत विश्वकर्मा, नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं उपत्यका विकास प्रधिकारणका आयुक्त भाइकाजी तिवारी लगायतको उपस्थिती थियो । 

    कार्यक्रममा उक्त वाटिका निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 

    वाटिकाको निर्माण समानान्तर निर्माण सेवा प्रालि र ग्रीन पिस बिल्डर्स प्रालिले गरेको हो । ग्रीन पिस बिल्डर्सका निर्देशक रामबन्धु न्यौपानेका अनुशार उक्त वाटिका काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंको आर्थिक तथा प्राविधिक सहयोगमा करीब रु ३ करोड २२ लाख लागतमा सम्पन्न भएको हो ।

    वाटिका निर्माण योजना मिति २०७४ जेष्ठ ५ गते सम्झौता भई मिति २०७४ आश्विन मसान्तमा सम्पन्न भएको न्यौपानेले आहाखबरलाई बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast