बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    बाम दलको योजना खाका

    नेपालीलाई विदेशी सेनामा भर्ना रोक्ने वाम कार्यदलको सपना, सीमामा भिसा

    नेपालको अन्तर्राष्ट्रिय सीमाको पूर्ण रक्षा गर्नका लागि भारतसँग जोडिएको सीमामा भइरहेको नक्साङ्कन वा नापीलाई उच्च तहबाट ध्यान दिई नेपाली भूभागको सुरक्षा गर्ने योजना

    मंगलवार, ११ बैशाख २०७५, आहाखबर

    काठमाडौँ ११, बैशाख :

    एमाले–माओवादी नेता सम्मिलित वाम कार्यदलले विदेशी सेनामा नेपाली भर्ना रोक्ने योजनाको खाका अघिसारेको छ ।

    एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको ७ सदस्यीय कार्यदलले सरकारका काम कारवाहीलाई व्यवस्थित गर्न तयार पारेको वामपन्थी सरकारको आर्थिक विकास तथा समृद्धिको कार्ययोजनामा प्रतिवेदन सो विषय उल्लेख छ । नेपालको राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै विदेशी सेनामा नेपाली भर्ना बन्द गर्न सुझाइएको छ ।

    यस्तै नेपाल र भारतमा आवागमनका लागि निःशुल्क अनलाइन भिसाको व्यवस्था गर्ने योजना खाका तयार पारिएको छ । अहिले नेपाल भारतबीच खुला सिमाना छ भने भारतीय तथा बेलायती सेनामा नेपाली नागरिकलाई सैन्य भर्ना लिने गरिएको छ । विदेशी सेनामा नेपाली नागरिक भर्ना र छिमेकी मुलुकसँगको खुला सिमानालाई राष्ट्रिय सुरक्षा खतराको रूपमा लिइएको हो । 

    २०७४ माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठकले एमाले–माओवादीको नेतृत्वमा गठन हुने सरकारका सुशासन र विकासका प्राथमिकताका सम्बन्धमा सुझाव दिन एमाले उपाध्यक्ष गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलले विभिन्न विषयका योजना खाका तयार गरी गत फागुन ६ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको राष्ट्रिय सुरक्षा विषयअन्तर्गत परराष्ट्र मन्त्रालय मार्फत नेपाली नागरिकलाई विदेशी सेनामा भर्ना रोक्न पहल गर्ने उल्लेख छ । साथै ‘नेपाली नागरिक विदेशी सेनामा भर्ना हुने पहिलेका सन्धि–सम्झौता कूटनीतिक माध्यमबाट खारेज गर्ने’ पनि प्रतिवेदनमा भनिएको छ । 

    यस्तो छ कार्यदलको राष्ट्रिय सुरक्षा कायम गर्न अघि बढाइने खाका  : 

    -नेपाल तथा भारतका नागरिकहरूले एकअर्काको मुलुक प्रवेश गर्दा भिसा लिने व्यवस्था गर्ने र पूर्ण अनलाइन प्रणालीबाट निःशुल्क भिसा लिन सक्ने व्यवस्था गर्ने ।

    -नेपाल–भारत सीमामा दुवै मुलुकका नागरिकहरूको आवागमनलाई व्यवस्थित गर्ने ।

    -नेपाल सरकारको स्वीकृतिबिना जबरजस्ती बसिरहेको विराटनगरस्थित भारतीय कार्यालय कूटनीतिक पहल गरी तीन महिनाभित्र कार्यालय हटाउने ।

    -सीमावर्ती क्षेत्रमा भारतद्वारा बनाइएका सडक तथा बाँधहरूको कारण बर्सेनि नेपाली भूमिमा हुने डुबानको समस्या समाधान गर्ने ।

    -छिमेकी मुलुकहरूसँगको सबै सन्धि, सम्झौता र सहमतिको पुनरावलोकन गर्ने । 

    -परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहलबाट वर्षायामको पानीको निकास सहज हुने गरी हालका संरचना हटाउने र नयाँ संरचना नबनाउने व्यवस्था गर्ने ।

    -नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना हुने कार्यलाई बन्द गर्ने ।

    -नेपालको संविधान अनुरूप परराष्ट्र सम्बन्धको सञ्चालन तथा नेपालको हित विपरीत वा प्रतिकूलका सबै सन्धि, सम्झौता र सहमतिको पुनरावलोकन गरी आवश्यकता अनुसार खारेजी, परिवर्तन, संशोधन वा परिमार्जन गर्ने । 

    -सीमा क्षेत्रको नक्साङ्कन तथा नापी कार्यमा समन्वय गर्ने ।
    -नेपालको अन्तर्राष्ट्रिय सीमाको पूर्ण रक्षा गर्नका लागि भारतसँग जोडिएको सीमामा भइरहेको नक्साङ्कन वा नापीलाई उच्च तहबाट ध्यान दिई नेपाली भूभागको सुरक्षा गर्ने ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast