बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    एसिड प्रहार गर्ने प्रहरी (ना) निरीक्षकलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    “यो दुःखद घटना घटेको हो, यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।”

    मंगलवार, ११ बैशाख २०७५, आहाखबर
    गृहमन्त्री रामबहादुर थापा सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्नुहुँदै । तस्वीर : नारायण अधिकारी, चितवन,रासस

    रत्ननगर, चितवन, १० वैशाख :

    गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन् । 

    ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए । 

    खनियाँलाई निलम्बन गरी कारबाही थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

    गृहमन्त्री थापासँग पीडित श्रेष्ठले विगतदेखि नै एसिड हान्ने प्रयास गरेको भन्दै कडा कारबाहीको माग गरेकी थिइन् । 

    अस्पताल पुगेर महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गृहमन्त्री थापाले दोषीलाई कडा कारबाही गर्र्न मातहतका निकायलाई निर्देशन दिए । 

    “यो दुःखद घटना घटेको हो,” उनले भने, “यस घटनाले मन्त्रालयलाई नै स्तब्ध बनाएको छ ।” 

    गृहमन्त्री थापाले राष्ट्र सेवकबाटै महिलाहरु असुरक्षित हुनु दुःखद भएको भन्दै प्रहरीको आचरण सुधारका लागि सरकारले ठोस कदम चाल्ने बताए । 

    सो अवसरमा चितवनका प्रहरी उपरीक्षक दीपक थापाले घटना तथा खनियाँमाथि गरिएको कानूनी कारबाहीका बारेमा जानकारी गराउँदै खनियाँलाई निलम्बन गरी छ दिनको म्याद थपेर मुद्दा अगाडि बढाइएको बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast