बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    अबको समय विकास र समृद्धिको समय हो : गृहमन्त्री रामबहादुर थापा

    विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको कुरामा जोड

    सोमबार, १० बैशाख २०७५, आहाखबर

    चितवन, १० वैशाख

    गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन्  ।

    रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको सोमबार टाँडीमा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताए ।

    अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको बताए। देशको विकासका लागि यातायातमा जस्तै कृषि क्षेत्र र अर्थतन्त्रमा देखिएका सिण्डिकेटको अन्त्य गर्नु पर्ने उनको भनाइ थियो । देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै औद्योगिकीकरण गर्न जरुरी रहेको बताए । 

    विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको उनले बताए । विकासका निम्ति अनुशासन आवश्यक रहेको भन्दै मन्त्री थापाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेको बताए ।

    औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यूनीकरण गर्नु पर्ने भन्दै उनले कहीँ कतै त्यस्तो देखिए खबर गर्न आग्रह गरे। उनले भने, “औद्योगिक क्षेत्रमा संगठित अपराध चुनौती पूर्ण बन्न सक्छ, सूचना दिनुहोस् जोकोहीलाई पनि कानूनको दायरामा ल्याउँछाँै ।” चन्दा आतङ्क समाजका लागि एक किसिमको अपराध भएको मन्त्री थापाले बताए ।

    कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दैनिक एक हजार ५०० युवा विदेशिनु देशका लागि विडम्बना भएको भन्दै देशमा नै लगानीमैत्री वातावरण बनाउन सरकार लाग्नु पर्ने बताए। राज्यले युवालाई ऋणमा सहुलियतसहित सहज रुपमा कर्जाको व्यवस्था गर्नु पर्ने उनको भनाइ थियो । सो अवसरमा संघका अध्यक्ष राजाराम रेग्मीले संघले अहिलेसम्म गरेका काम तथा अबका चुनौतीका विषयमा जानकारी गराएका थिए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast