मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    पानी सुरक्षा

    पानी सुरक्षा सरोकारको विषय भएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड !

    पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह, राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड

    मंगलवार, २७ चैत्र २०७४, कल्पना पौडेल .

    काठमाडौँ, २७ चैत

    पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।

    मंगलबारदेखि राजधानीमा शुरु भएको तीनदिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले पानी सुरक्षा चुनौती बन्दै गएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे । बढ्दो जनसंख्या र शहरीकरणले पानीको स्रोत, वनजंगल र जमिनमा असर परिरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, “जीवनको आधारका रुपमा रहेका पानीको आपूर्ति अत्यन्त संवेदनशील विषय हो, घरायसी उपयोग, कृषि र औद्योगिक प्रयोजनमा पानीको माग बढ्दै गएकाले पानी अमूल्य छ, यसको सुरक्षामा ध्यान दिन जरुरी छ ।”

    उपराष्ट्रपति पुनले संयुक्त राष्ट्रसंघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यको बुँदा नं ६ मा राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि जोड दिए ।

    जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, दिगो विकासका लक्ष्य र विपद् जोखिमसम्बन्धी सेन्डाई फ्रेमवर्कका प्रावधान वातावरण विनाशको असरबाट जोगाउनका साथै मुलुकको आर्थिक सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण भएको पनि उपराष्ट्रपतिले बताए ।

    उनले जल, वायु र विषाक्त फोहरबाट भइरहेको प्रदूषणलाई रोक्नुपर्ने, जलवायु परिवर्तनको असरबाट नेपाल अत्यन्त प्रभावित हुने मुलुकमा परेको उल्लेख गर्दै नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले विश्वलाई नै नयाँ सन्देश दिनसक्ने विश्वास पनि गरे।

    दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा हान सुङ सूले पानी जीवनको प्रमुख आधार भएको बताए । पानीविनाको जीवन कल्पना गर्न नसकिने बताउँदै उनले पानीको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।

    संयुक्त राष्ट्रसंघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका प्रमुख रहेका पूर्वप्रधानमन्त्री डा हान सूङ सूले मानव सभ्यताको शुरुआत नदी किनाराबाट भएको उल्लेख गर्दै खाद्यान्न, सिँचाइ र यातायातमा पानीको बहुआयामिक उपयोगको प्रयोग व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

    उनले विश्वव्यापीकरण, औद्योगिकीरण, बढ्दो जनसंख्या कारण पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै उहाँले पानी प्रदूषण रोक्न र प्रयोग व्यवस्थापनमा उचित ध्यान नपुगेकाले हरेक देशले प्राकृतिक विपत्तिको निरन्तर सामना गर्नुपरेको उल्लेख गरे ।  

    पूर्वप्रधानमन्त्री डा सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव, कतै बाढी पहिरो, सुनामी र आँधीका समस्या उत्पन्न हुने गरेको बताए ।

    उनले जलवायु परिवर्तनका असर कम गर्न वातावरण संरक्षणमा ध्यान दिनुका साथै अनुकूलनका कार्यक्रम पनि साथै सञ्चालन गर्नुपर्ने बताए ।

    खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी, वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नयाँ प्रविधि प्रयोग, विभिन्न परीक्षणले पानीका मुहान सुक्दै गएको वातावरण विनाश र प्रदूषण ल्याएको जलवायु परिवर्तनका नकारात्मक असरबाट बच्नका लागि सम्मेलनमा भावी योजनाका लागि सहयोग पुग्ने बताए ।

    सम्मेलन आयोजक समितिका संयोजक तथा पब्लिक हेल्थ इञ्जिनियर्स एसोसियसनका अध्यक्ष ई रामदीप साहले सीमित स्रोतको किफायती उपयोग गरी विश्वलाई सुरक्षित गर्दै सबैलाई स्वच्छ पानी उपलब्ध गराउन पानीको समुचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

    उनले पानीको अनावश्यक प्रयोगलाई रोकी पुनःप्रयोग गर्दै पानीको स्रोतको दिगोपना, वातावरण, आर्थिक र सामाजिक पक्षमा पारेको असरबारे सम्मेलनमा अनुभव आदानप्रदान गर्दै अगाडिका योजनामा साझेदारी गर्ने सम्मेलनको उद्देश्य रहेको बताए ।

    सम्मेलनमा १८ वटा विशेष प्रस्तुति र ११६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरेर परिमार्जन गरी काठमाडौँ घोषणापत्र जारी गर्ने नेपाल इञ्जिनियर्स एसोसियसनका अध्यक्ष इन्जिनियर हरेराम श्रेष्ठले बताए ।

    वन तथा वातावरण मन्त्रालय, काठमाडौँ उपत्यका खानेपानी आपूर्ति व्यवस्थापन बोर्ड र पब्लिक हेल्थ इञ्जिनियर्स एसोसियसनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनममा १५० जना जति विदेशी र ३५० जना जति नेपाली सहभागी रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast