आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    प्रदेश राजधानी

    नुवाकोट राजधानी बनाउने ऐतिहासिक, भौगोलिक, रणनीतिक आधारहरु बारे छलफल, चीन र भारतको पारवहन विन्दु भएको ठहर

    काठमाडौँदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताए

    सोमबार, २८ फागुन २०७४, आहाखबर

    काठमाडौँ, २८ फागुन ।

    नुवाकोटलाई प्रादेशिक राजधानी बनाउन नुवाकोटका प्रदेश सदस्य, जिल्ला समन्वय समिति, राजनीतिक दल र पर्यटन व्यवसायी र नागरिक समाजले ऐतिहासिक, भौगोलिक, रणनीतिक र पूर्वाधारका आधार प्रस्तुत गरेका छन् ।

    जिसस नुवाकोट र नुवाकोट सरोकार समाजले ‘नुवाकोटको विगत, वर्तमान र भविष्य’शीर्षकमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिहरुले काठमाडौँदेखि नुवाकोट पुग्न हाल तीन वटा डबल लेनका मार्ग कायम रहेको र मध्यपहाडी मार्ग नुवाकोट भएर जाने तथा भविष्यमा सुरुङ मार्ग पनि बन्ने भएकाले छिटो नुवाकोट पुग्न सक्ने देखिएको बताए ।

    औद्योगिकीकरणका लागि जमीन, विद्युत् र पानी पर्याप्त रहेको नुवाकोट चीन र भारतको पारवहन विन्दु भई रणनीतिक महत्वको स्थान पनि भएको उनीहरुले बताए। कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली र हीरानाथ खतिवडा(नुवाकोट)ले प्रदेशका बाँकी १२ जिल्लाबाट नुवाकोट सजिलैसँग पुग्न सकिने र नुवाकोटमा प्रशस्त भवन, भवन बनाउन मिल्ने खाली जग्गा तथा समथर फाँट भएको बताए ।

    प्रदेशसभा सदस्य(काठमाडौँ) नरोत्तम वैद्यले आफूहरु हेटौँडाको पक्षमा नरहेको र पार्टीले पनि आफूहरुलाई स्वविवेक प्रयोग गर्न दिनुपर्ने बताए। नेपाली काँग्रेसका नेता रमेश महतले राजधानीको फोहर राख्ने डम्पिङ साइट हाल नुवाकोटको ओखरपौवामा रहेको तथा खाद्यान्न र तरकारी पनि काठमाडौँ निर्यात भइरहेको बताउँदै उद्योगका लागि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट प्रशस्त विद्युत उत्पादन भइरहेको जानकारी दिए ।

    पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटकीय जिल्ला नुवाकोट भारत चीन व्यापारमार्ग पनि भएको बताए। सरोकार समाजका अध्यक्ष रामलाल श्रेष्ठले पृथ्वीनारायण शाह र गीर्वाणयुद्धविक्रम शाहका पालामा दुई पटक राजधानी बनिसकेको नुवाकोट अन्य जिल्लाका तुलनामा नुवाकोट कम विकसित भएकाले भविष्यमा विकास गर्नका लागि पनि यसलाई राजधानी बनाउनुपर्ने तर्क दिए। सो अवसरमा नुवाकोटलाई राजधानी बनाउन सकिने आधारहरु झल्काइएको जिसस नुवाकोटबाट निर्मित वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast