आईतवार, असोज ५, २०७६
    राज्य-समाज

    युएस बंगलाको विमान दुर्घटना

    दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुने, अवतरणको क्रममा दुर्घटना भएको प्राधिकरणको भनाइ

    घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको स्पष्टिकरण

    सोमबार, २८ फागुन २०७४, आहाखबर

    काठमाडौँ, २८ फागुन

    प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन् ।

    दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए ।

    उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरे ।

    उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताए । 

    त्यस्तै  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार  अपरान्ह १४ः१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ ।

    प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए । 

    ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो । 

    विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका छन् । 

    घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast