मंगलवार, मंसिर ३, २०७६
    विज्ञान/प्रविधि

    केमिकल वैज्ञानिक सम्मेलन

    सौराहामा केमिकल वैज्ञानिक सम्मेलन, २० देशका सय र स्वदेशका सय वैज्ञानिक सहभागी

    सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने

    शुक्रबार, २५ फागुन २०७४, आहाखबर

    चितवन, २५ फागुन

    अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ ।

    सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति जीवराज पोख्रेलले गरेका हुन् । सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने संस्थाका सदस्य मनोज विष्टले जानकारी दिए ।

    सम्मेलन उद्घाटनका अवसरमा चितवनमा राजनीतिज्ञ, शिक्षण पेशा, समाजसेवा एवं पर्यटन क्षेत्रमा योगदान दिएका पाँचजना व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा खम्बसिंह कुँवर महेश्वरलाल श्रेष्ठ, आनन्द दराई, प्रा डा गणेशप्रसाद खरेल र मरणोपरान्त स्व मल्लु चौधरी रहेका छन् ।

    अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज, अनुसन्धान एवं उपलब्धि र ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रा डा अमरप्रसाद यादवले जानकारी दिए ।

    नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु भएको हो । सम्मेलनमा २० देशका १०० जना र स्वदेशका १०० वैज्ञानिकको सहभागिता रहेको छ । उनीहरुले १७० वटा कार्यपत्र एवं पोष्टर प्रस्तुत गर्नेछन् ।

    सम्मेलनमा विशिष्ट अतिथि प्रदेशमन्त्री दावा दोर्जे लामा, फेडेरसन अफ एशियन सोसाइटीका अध्यक्ष डेविड इन्कलरलगायत रहनुभएको थियो । सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष अमर यादवले गरेका थिए ।

    सम्मेलनको दोस्रो दिन शुक्रबार बिहानदेखि नै कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएका छन् । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन शनिबारसम्म चल्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast