मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    नायक भुवन केसीको लफडा

    चोरी केशमा फसे नायक भुवन केसी, प्रतिलिपी अधिकार सम्बन्धी लफडा

    ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको उक्त गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए

    बुधबार, २३ फागुन २०७४, आहाखबर

    काठमाडौँ, २३ फागुन

    नायक भुवन केसीलाई चोरीको आरोप लागेको छ । पुरानो गीत ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि यो केटा के भा’को? यही बोलको गीतका कारण नायक भुवन केसी लफडामा परेका छन् ।  केसीलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेको हो ।

    अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् । लफडाचाहिँ प्रतिलिपी अधिकारको हो ।

    सोसम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवाष गिरीले । मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् । फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी छ, शम्भुको । तर, भुवन आफू नभएर सुवाष निर्माता भएको बताउँछन् ।

    देश–विदेशमा फिल्म चलाएर करोडौँ व्यापार गरिसकेको फिल्म ‘कृ’ ले आफ्नो स्वामीत्वमा रहेको उक्त गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् । दावीबमोजिम क्षतिपूर्ति दिँदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ । तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । शम्भुले भने, ‘मेरो सम्पत्ति जथाभावी प्रयोग गरेर उनीहरु पैसा कमाउने, म न्याय माग्न जाँदा भिख मागेजस्तो व्यवहार गर्ने रु त्यस्तो त हुँदै हुँदैन ।’

    चलचित्रले गरेको कूल व्यापारको ५० प्रतिशत हर्जाना नबुझी मुद्धा फिर्ता नलिने शम्भु प्रधानको अडान कायमै छ । शम्भु ‘सम्झना’ चलचित्रको सिक्वेल निर्माणको तयारीमा थिए । त्यही ‘उकालीमा पछि–पछि’ बोलको गीतलाई अझ राम्रो बनाएर फिल्म चलाउने सोचाई थियो । ‘मेरो त त्यही गीत पनि चोरी भयो भाइ’, शम्भुले बताउछन् ।

    यस्तो कुरा सुनेपछि सोमबार दिल्लीबाट काठमाडौं आइपुगेका उक्त गीतका गीतकार तथा संगीतकार रञ्जित गजमेरले एयरपोर्टबाटै शम्भुलाई फोन गरेर गाली गरे, ‘तिमीले त्यो गीत किन बेच्यौ भाइ ?’ शम्भुले भने, ‘मैले बेचेको होइन दाइ, भुवनले नसोधी आफ्नो चलचित्रमा हालिदियो ।’ रञ्जितले भने, ‘त्यसो भए यसको नालिस लाग्ने ठाउँ कहाँ छ ? म पनि जान्छु ।’ शम्भुले प्रहरीमा मुद्धा चलिरहेको बताए । एउटा कार्यक्रमका लागि रञ्जित पोखराबाट फर्किंदै छन् । शम्भुको जाहेरीकै बान्कीमा अर्को जाहेरी हाल्ने भएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast