सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    कन्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गरिँदै

    विगतका वर्षहरुको तुलनामा बाघको संख्यामा वृद्धि, बाघको संख्या गणना पछि मात्रै सार्वजनिक गरिने जानकारी

    आईतवार, २० फागुन २०७४, आहाखबर

    कञ्चनपुर, २० फागुन । 

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ । 

    स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित फोटो हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए  । 

    “पाटे बाघको एउटा फोटो अर्को फोटोसँग मिलाएर हेर्दैछौँ,” उनले भने । डडेल्धुराको जोगबुढा र चुरे क्षेत्रमा समेत स्वचालित क्यामरामा बाघ देखापरेको उनले बताए  । बाघको संख्या कति छ भन्नेबारे फोटो विश्लेषणपश्चात् मात्रै  थाहा हुने घिमिरेको भनाइ छ । 

    विगतका वर्षहरुको तुलनामा बाघको संख्या बढेको उनी बताउँछन्  । “फोटो विश्लेषणपश्चात् संख्या यकिन हुनेछ,” घिमिरेले भने  । शुक्लाफाँटामा गत माघ २० गतेदेखि क्यामरा ट्र्यापिङको सहायताले बाघ गणना शुरु गरिएको थियो । बाघ गणनाका लागि चारवटा हात्तीसहित ९० जना प्राविधिकको टोली परिचालन गरिएको थियो । 

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चार, जिल्ला वन कार्यालयमा चार, जोगबुढा क्षेत्रमा तीन समूह गरी कूल ११ समूहले एकैसाथ बाघको गणना गरेको घिमिरेले बताउनुभयो । स्वचालित ६० जोर क्यामरा, सन्टो कम्पास, रेञ्ज, फाइण्डर र जिपिएस उपकरणको प्रयोग गरी बाघ गणना गरिएको थियो । कूल पाँच हजार ५०० किलोमिटर क्षेत्रभित्र बाघ गणना गरिएको थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा निकुञ्जले पहिलो पटक बाघ गणना गरेको हो । 

    सन् २००९ मा शुक्लाफाँटामा बाघको संख्या १० थियो भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । सन् २०२० सम्म सरकारले बाघको संख्या दोब्बर पार्ने योजना बनाएको छ । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast