शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    मन्त्रालय बांडफांड

    सरकारले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने, फोरमसँगको वार्ता अन्तिम चरणमा

    यसअघि एमालेले दश तथा माओवादी केन्द्रले सात वटा मन्त्रालय बाँडफाँट गरेका थिए, अब फोरमको लागि उनीबीचले एकएक मन्त्रालय छोड्ने

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर

    काठमाडौँ, १८ फागुन । 

    सत्तारुढ दल एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सरकारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी हुने अन्तिम तयारी गरेपछि यो निर्णय भएको हो । स्रोतका अनुसार संघीय फोरमसँग भएको वार्ता र सम्वाद अन्तिम चरणमा छ । एमाले, माओवादी र संघीय फोरमबीच केही राजनीतिक विषयमा लिखित सहमति हुन बाँकी रहेको जानकारी आहाखबरले पाएको छ । 

    उक्त सहमति पछि संघीय फोरमसहित एमाले र माओवादीका मन्त्रीलाई आइतबार नै मन्त्रीको शपथ गराउने स्रोतले जनाएको छ । संघीय फोरम पनि सहभागी हुने भएपछि एमाले र माओवादीका एक–एक मन्त्रालय घट्ने पक्का छ ।

    संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा तीन दलबीच हस्ताक्षर गर्ने तयारीसाथ शनिबारका लागि बैठक बोलाइएको छ । सत्तारुढ दल र फोरमबीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो । तर, फागु पर्वका कारण नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन भने सकेन ।

    मन्त्रालय बाँडफाँटको विषय भने अन्तिम टुंगो लाग्न भने बाँकी नै रहेको बताइएको छ । फोरमले तीन मन्त्रालय माग गरेको छ भने एमाले र माओवादीले भने एक मन्त्री र एक राज्यमन्त्री दिन सकिने बताएका छन् । फोरमले तीनवटा मन्त्रालयमा अड्डी लिएको छ । यसअघि एमालेले दश तथा माओवादी केन्द्रले सात वटा मन्त्रालय बाँडफाँट गरेका थिए । फोरम सरकारमा सहभागी हुने अवस्थामा उनीबीच एकएक मन्त्रालय छोड्ने भएका हुन् ।

    संविधान संशोधनका विषयमा तीन दल सकारात्मक छन् । तीन दलबीच आपसी समझदारीमा संविधान संशोधन गर्ने सहमति जुटिसकेको नेताहरूको दाबी छ । बैठकमा फोरमले पार्टीभित्र सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दलबीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast