सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    सशस्त्र प्रहरी बलद्वारा चितवनमा २०३ किलो गाँजा बरामद गरी नष्ट

    सशस्त्र प्रहरी नायब निरीक्षक नारायणप्रसाद इटनीको नेतृत्वमा गएको गस्ती टोलीले सुराकीको आधारमा गाँजा बरामद

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर
    फाइल तस्वीर : बरामद गरिएका गाँजा

    रत्ननगर, चितवन, १८ फागुन। 

    सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । 

    गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २०३ किलो गाँजा बरामद गरेको गणका सशस्त्र प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए  । 

    गणका सशस्त्र प्रहरी नायब निरीक्षक नारायणप्रसाद इटनीको नेतृत्वमा गएको गस्ती टोलीले सुराकीको आधारमा गाँजा बरामद गरेको हो । 

    सो बरामद गाँजा बिहीबार नै गणका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक रामेश्वर त्वाती, राप्ती नगरपालिका–६ का वडाध्यक्ष जल्लु चौधरी, पत्रकारलगायतका उपस्थितिमा नष्ट गरिएको हो । 

    सशस्त्र प्रहरी गण भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरपूर्वको पहाडी क्षेत्रमा रहेको सो गाउँमा प्रहरीले पटकपटक गाँजा नष्ट गर्दै आएको छ । 

    विगतमा पनि गाँजा बरामद हुने गरेको थियो । केही महिना अघि मात्रै यहाँको विभिन्न ठाउँमा १५ बिगाहाभन्दा बढी क्षेत्रको गाँजा फाँडेर नष्ट गरिएको थियो । सो क्षेत्रमा गाँजा खेती हुँदै आएको छ । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast