सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    नेपाली काँग्रेसले परिवर्तन खोजेको छ : नेता कृष्णप्रसाद सिटौला

    निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण काँग्रेसको पराजित भएको भनाई

    शुक्रबार, १८ फागुन २०७४, आहाखबर
    फाइल तस्वीर : कृष्ण प्रसाद सिटौला

    काठमाडौँ, १८ फागुन। 

    नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस पार्टीले परिवर्तन खोजेको बताएका छन्  । 

    नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज नेपालटारमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र नेपाली काँग्रेसको भूमिका’ विचार गोष्ठीमा उनले परिवर्तित समयसँगै काँग्रेसलाई लैजान नसके पार्टी नै समाप्त हुने बताए  । “काँग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु आवश्यक छ”, उनले भने  । 

    नेता सिटौलाले काँग्रेसको निर्वाचनमा नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा गम्भीर त्रुटि भएका कारण पराजित हुनुपरेको बताए  । 

    काँग्रेसभित्र वैचारिक बहस चलाउनुपर्ने बेला आएको उनको भनाइ थियो । उनले कम्युनिष्टहरु सरकारमा हुँदा आफ्ना लागि काम गर्ने तर राष्ट्रका लागि काम नगर्ने प्रवृत्ति भएको आरोपसमेत लगाए  । 

    काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा जाँदा कमजोर नतिजा ल्याएको बताए  । 

    नेता पौडेलले चार पटक प्रधानमन्त्री भएका काँग्रेसका सभापतिलाई प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुपर्यो  भनी प्रश्न गरे  । “काँग्रेस हराउन काँग्रेस तयार हुन्छ तर काँग्रेस जिताउन काँग्रेस किन तयार हुँदैन”, उनको  प्रश्न थियो । 

    काँग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच काँग्रेसप्रति हिनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे काँग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताए  । “सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन, नयाँलाई अवसर दिनुपर्छ”, उनले भने  । 

    प्रदेश सांसद जीवन डंगोल, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्याम तिवारीलगायतले इमान्दार कार्यकर्ताको हातमा पार्टी नपुगेसम्म काँग्रेसले पुनर्जीवन पाउन नसक्ने बताए  । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast