बिहिवार, माघ ९, २०७६
    स्कुल-कलेज

    जग्गा अतिक्रमणको चपेटामा पर्यो बर्दिबास–२ स्थित जनता मावि

    विद्यालयका नाउँमा दर्ता रही भोगमा आउन नसकेको जग्गाबारे खोजविन भइरहेको व्यवस्थापन समितिको जानकारी

    मंगलवार, १५ फागुन २०७४, आहाखबर

    महोत्तरी , १५ फाल्गुन  । 

    बर्दिवास नगरपालिकाको पुरानो विद्यालयको जग्गा अतिक्रमणको चपेटामा परेको छ । बर्दिबास–२ स्थित जनता माविको नगर क्षेत्रभित्रकै २१ बिघा जग्गामध्ये नौ बिघा जग्गा अतिक्रमणमा परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । बर्दिवासको शाखसँग जोडिएको सो विद्यालयका नाउँमा दर्ता रहेको २१ बिघा जग्गामध्ये अहिले १२ बिघा मात्र भोगचलन हुनसकेको छ । 

    छ महिना पहिलेसम्म १० बिघा मात्र भोगमा रहे पनि यसबीचमा व्यवस्थापन समितिको पहलमा खोज गर्दा थप दुई बिघा जग्गा स्वामित्वमा लिइएपछि १२ बिघा जग्गा भोगमा आएको अध्यक्ष देवनारायण महतोले जानकारी दिए  । विद्यालयका नाउँमा दर्ता रही भोगमा आउन नसकेको जग्गाबारे खोजविन भइरहेको व्यवस्थापन समितिले जनाएको छ । 

    विद्यालयका जग्गामा घर बनाएर बसोवास गरिहेकाहरुले किचलो गर्दा विद्यालयलाई भोगमा समस्या आएको हो । विभिन्न दाताका दानबाट प्राप्त जग्गा खोजी गरेर स्वामित्वमा लिन नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीसहित यहाँका सबै राजनीतिक दलका प्रतिनिधि र व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले कार्यदल बनाएर कामअघि बढाउने निर्णय गरेको अध्यक्ष महतोले जानकारी दिए  । 

    विसं २०७२ तिर प्राथमिक विद्यालयका रुपमा स्थापित सो विद्यालयमा २०३७ सालदेखि माध्यमिक तहको पठनपाठन शुरु भएको हो । हाल १२ कक्षासम्म पठनपाठन भइरहेको विद्यालयमा एक हजार २०० विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक  दिलीप तिवारीले बताए  । 

    खासमा गरीब, दलित र निम्न वर्गका बालबालिका पठनपाठन गर्ने विद्यालयबारे ठूलाबडाले ध्यान दिन छाडेपछि विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिकक बेथिति बढेको विद्यालय नजिकैको एकीकृत नमूना मुसहर बस्तीका बिल्टु सादा बताउँछन्  । 

    पछिल्ला दिनमा विद्यालयका जग्गा, विद्यालय प्रशासन र शैक्षिक अवस्थाका बारेमा आएका गुनासोबारे गम्भीर ध्यानाकर्षण भएको नपाका प्रमुख कार्कीले बताए । आफ्नो तहबाट समस्या निराकरण गर्न पहलकदमी थालिएको उनको   भनाइ छ । रासस 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast