मंगलवार, जेष्ठ २०, २०७७
    मुभी-थिएटर

    हार्दिक श्रदान्जली

    चर्चित भारतीय अभिनेत्री श्रीदेवीको असामयिक निधन, सम्पूर्ण बलिउड स्तब्ध

    ५४ वर्षिया उनको मृत्युको कारण हृदयाघात, बलिउड कलाकार लगायत प्रधानमन्त्री मोदीद्वारा समेत हार्दिक श्रद्धाञ्जलि व्यक्त

    आईतवार, १३ फागुन २०७४, आहाखबर

    मुम्बई, १३ फागुन  । 

    भारतीय चलचित्र जगत बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति निधन भएको दुःखद खबर छ । 

    श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उनलाई हृदयाघात भएको परिवारिक स्रोतले जनाएको छ । 

    उनको निधनको समाचारले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् । साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् । 

    चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिइन्  । उनले  मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा अभिनय गरेकी छिन्  । 

    उनका यी चर्चितसहित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् । उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । 

    चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेकी थिइन् । 

    उनले आफ्नो कलाकारिता व्यवसायको सुरुवातका समयमा बालकलाकारकै रूपमा तेलुगु र मलयालम भाषाका चलचित्रहरूमा पनि अभिनय सुरु गरेको  समाचारमा जनाइएको छ । 

    श्रीदेवीले सन् १९७९ मा मुख्य नायिकाकै रुपमा बलिउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरेकी थिइन्  । 

    उनले सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि केहीवर्ष चलचित्रमा देखा नपरेपछि उनी किन सो क्षेत्रमा आइनन्  भन्ने बारेमा निकै ठूलो चर्चा चलेको थियो । 

    यसैबीच उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्  । उनले लोकप्रिय कलाकार श्रीदेवीको निधनबाट भारतलाई बलिउड क्षेत्रमा ठूलो क्षति भएको बताएका छन्  । 

    प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीटगर्दै श्रीदेवीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

    त्यसैगरी बलिउडकी अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि ट्वीटगर्दै आफूसँग श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पणगर्न कुनै शब्द नै नभएको भन्दै आफूलाई ठूलो शोक परेको बताएकी  छिन् । 

    उनले श्रीदेवीको निधनले भारतीय चलचित्र क्षेत्रलाई निकै ठूलो र अपुरणीय क्षति पुगेको बताएका छन्  । 
    भारतीय चलचित्र क्षेत्रका अर्का एकजना चर्चित नायक अक्षयकुमारले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्  । 

    भारतीय कलाकारिता क्षेत्रका हजारौँ व्यक्तिले श्रीदेवीको निधनले बलिउड क्षेत्र नै शोकमा डुबेको र देशलाई ठूलो क्षति पुगेको अभिव्यक्ति दिइरहेका छन् ।

     

    त्यसैगरी भारतका दशौँ लाख नागरिकले सामाजिक सञ्जालहरुमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पणगर्दै श्रीदेवीको निधनले विश्वमा नै चर्चित भारतको बलिउड क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast