आईतवार, मंसिर २२, २०७६
    राज्य-समाज

    राष्ट्रिय एकता सुदृढ गर्न सबै भाषाको उचित सम्मान गर्नु पर्नेमा जोड

    भाषा र राष्ट्रियता एकार्कासँग अनोन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न असम्भव

    आईतवार, १३ फागुन २०७४, आहाखबर

    बर्दिवास, १३ फागुन । 

    साझा भाषाको नीतिले नेपाली राष्ट्रियता सुदृढ हुने विचार व्यक्त गरिएको छ । 

    बर्दिवासस्थित आधारशिला र जयगोविन्द साह अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली राष्ट्रियता र भाषा’ विषयको प्रवचन गोष्ठीमा वक्ताले देशमा बोलिने सबै भाषाले उचित सम्मान पाए मात्र नेपाली राष्ट्रियता सुदृढ हुन सक्ने बताए  । 

    आधारशिला स्थापनाको १५ औंँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा आयोजित कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले हिन्दूहरुको आदिग्रन्थ ‘वेद’मा नै ‘सबै सँगै हिँडौँ, सबैसँगै बोलौं ’ भनिए पनि त्यसलाई कर्मकाण्डीय रुपमा लिइँदा असमानता बढेको बताए  । समृद्ध भाषाले समृद्ध राष्ट्र निर्माण गर्छ भन्ने विद्वान्को मतलाई अब व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो । 

    अध्ययन केन्द्रका अध्यक्ष विन्देश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता रामचन्द्र झाले पछिल्लो कालखण्डमा राज्यले अख्तियार गरेको ‘एउटै भाषा, एउटै वेश’ को नीतिले ओझेल्याउन खोजेको बताए  । राज्यले अब भाषासम्बन्धी नीति बनाएर लिपि भएका भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिँदै अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

    भाषाविद् एवं पूर्वसांसद गोपाल ठाकुरले भाषा र राष्ट्रियता एकार्कासँग अनोन्याश्रित रुपमा जोडिएका विषय भएकाले भाषाको कुरा पन्छाएर सुदृढ राष्ट्रियताको कल्पना गर्न नसकिने बताए  । 

    वाम बुद्धिजीवी श्याम श्रेष्ठले नेपाली समृद्ध भाषा भइसकेकाले अब अर्को भाषालाई स्थान दिँदा अप्ठ्यारो पो पर्ने हो कि भन्ने चिन्ता नगर्न नेपालीभाषीसँग आग्रह गरे  । उहाँलेमुख्यतः भाषाभित्रैबाट आफ्नो पहिचान खोजिने हुनाले सबै भाषाभाषीले ‘मेरो देश नेपाल र म नेपाली’ भन्ने भावना जागृत गराउन भाषा नीति लचिलो हुनैपर्ने औंँल्याए । 

    राजपा नेपालकी नेत्री एवं प्रदेशसभा सदस्य सुरिता साहले हिन्दी सरकारी कामकाजको भाषा बन्नुपर्ने आफुहरुको पुरानो अडान कायम रहेको बताए  । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast